वासिंटन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन परिणाम उल्टाउन गरेका एक पछि अर्का मुद्दा हार्न थालेका छन्। निर्वाचन परिणाम उल्टाएर राष्ट्रपति हुने ट्रम्पको चाहना असफल भएको छ। ट्रम्पको समर्थनमा टेक्सास राज्यले दायर गरेको मुद्दा खारेज हुने फैसला सर्वोच्च अदालतले सुनाएपछि उनलाई ठूलो धक्का लागेको छ।
टेक्सासका महान्यायाधिवक्ताले गत नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा जो बाइडेन विजयी भएका चार ब्याटलग्राउण्ड राज्यहरु जर्जिया, मिसिगन, पेनसिलभेनिया र विसकन्सिनको नतिजा अवैध गर्न माग गरी सर्वोच्च अदालतमा यो हप्ता मुद्दा दायर गरेका थिए।
सर्वोच्च अदालतले स्थानीय समय अनुसार शुक्रबार बेलुका सो मुद्दामा फैसला सुनाउदै प्रमाण नपुग्ने भन्दै खारेज गरेको थियो।
मुद्दामा १९ राज्यका महान्यायाधीवक्ता र १२७ रिपब्लिकन सांसदहरुले समर्थन गरेका थिए। तर सर्वोच्च अदालतले टेक्सास राज्यसँग यस्तो मुद्दा ल्याउने कानुनी अधिकार नरहेको व्याख्या गरेका छन्।
यसअघि गत मंगलबार सर्वोच्च अदालतले पेन्सिलभेनियामा बाइडेनको जितलाई आधिकारिकता प्रदान नगर्न माग गर्दै ट्रम्प पक्षले दायर गरेको मुद्दा खारेज गरेको थियो। अमेरिकी सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधीशको ६–३ को बहुमत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।