भैरहवा- 8सेवी लीलाराम न्यौपानेको ८९औं जन्मजयन्तीको अवसरमा लीलाराम कुन्तीदेवी प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ।
प्रतिष्ठानकी संरक्षक कुन्तीदेवी न्यौपानेको उपस्थितिमा लीलाराम न्यौपाने 8सेवा सम्मान–२०७५ बाट नेपाली कलाकारिता क्षेत्रका स्थापित कलाकार तथा सामाजिक अभियन्ता एवं धुर्मुस सुन्तली फाउन्डेसनका संस्थापक सीताराम कट्टेल धुर्मुस लगायत चार जनालाई सम्मान गरिएको हो।
त्यस्तै लीलाराम कुन्तीदेवी न्यौपाने पत्रकारिता सम्मानबाट पत्रकार चेतन पन्त सम्मानित भएका छन्। पत्रकारिता एवं गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसारमा योगदान पुर्याएको भन्दै पन्तलाई सम्मान गरिएको हो। त्यसैगरी शिक्षासेवा सम्मानबाट शिक्षक विनोद शाही सम्मानित भएका छन्। शिक्षा क्षेत्रमा पुर्याएको योगदान तथा विश्वका अति उत्कृष्ट ४० जना शिक्षकभित्र सूचीकृत भई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढाएको भन्दै शाही सम्मानित भएका हुन्।
कार्यक्रममा खेलकुद सम्मानबाट कीर्तिमानी खेलाडी बन्न सफल राष्ट्रिय क्रिकेट टिमका सदस्य वसन्त रेग्मी सम्मानित भएका छन्। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी नेपालको गरिमा उच्च राख्न सफल भएको भन्दै रेग्मी सम्मानित भएका हुन्। उनीहरुले जनही एक लाख रुपैयाँ पाएका छन्।
प्रतिष्ठानले भानु मावि सिद्धार्थनगरमा शैक्षिक व्यवस्थापन (फर्निचर) मा सहयोग बापत १ लाख १ हजार, नेपाल क्यान्सर सपोर्ट ग्रुप हरिसिद्धी ललितपुरलाई १ लाख ५१ हजार, संस्कृत विद्याश्रम, सिद्धार्थनगरमा पूर्वाधार निर्माणमा सहयोगबापत २ लाख १ हजार, महानन्द प्रसाद उपाध्याय मावि बगही पर्सामा पूर्वाधार निर्माणमा सहयोगबापत २ लाख १ हजार, वीरेन्द्र मावि छपिया, रुपन्देहीमा दृष्टिविहीन स्रोत कक्षा भवन निर्माणमा सहयोगबापत ३ लाख १ हजार र धुर्मुस सुन्तली फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ।
त्यस्तै आर्थिक वर्ष २०७४/०७५ अन्तर्गत लीलाराम कुन्तीदेवी न्यौपाने गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षय कोषको स्थापनाका लागि प्रतिष्ठानले रोल्पादेखि मकवानपुरसम्मका विद्यालयलाई सहयोग गरेको छ। प्रतिष्ठानले प्रति विद्यालय २ लाख ५० हजारले सहयोग गरेको हो।
सहयोग पाउने विद्यालयहरु
बहिरा बाल विद्यालय सिद्धार्थनगर, रुपन्देही
वनदेव प्रावि. सुनवल, नवलपरासी
बालकल्याण मावि, लिवाङ, रोल्पा
भैरस्थान प्रावि, सिद्धेश्वर, असारे, पाल्पा
झेर्दा आधारभूत विद्यालय हुँगा, गुल्मी
चुरियामाई मावि, हेटौंडा, मकवानपुर
सिद्ध प्रावि, साउने, पाल्पा
गिर्वाण सरस्वती संस्कृत तथा साधारण मावि मणिग्राम, रुपन्देही
महाकाली आधारभूत विद्यालय, कालिका–९ चितवन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।