मंगलबारे– गाडीमा आगजनी गरेको आशंकामा इलाम प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
प्रहरीले इलाम नगरपालिका–३ जौवारीका काजीमान सुनुवार, सूर्योदय नगरपालिका–१२, आइतबारेका लाक्पा शेर्पा, इलाम नगरपालिका–३ बस्ने चन्द्र थापा र इलाम नगरपालिका–३ पूवामझुवाका ‘समिर’ भनिने सञ्जीवकुमार राईलाई सोमबार पक्राउ गरेको हो।
मेची राजमार्गको इलाम पूवाखोला सडकखण्डमा गत बैसाख २२ गते गाडीमा आगजनी गरेको घटनामा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको इलामका प्रहरी उपरीक्षक विपीनकुमार कर्माचार्यले जानकारी दिए।
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको दिन गाडीमा आगजनी भएको थियो। पक्राउ परेका उनीहरुको साथबाट चन्दा रसिद, पार्टीका विभिन्न पर्चालगायतका सामग्रीसमेत बरामद गरिएको बताइएको छ।
बिर्तामोडबाट इलाम हुँदै सामान लिएर फिदिमतर्फ जाँदै गरेको (पिकअप) मा आगजनी भएको थियो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाम प्रहरीको भनाइ छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।