काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आइतबार बस्ने निश्चित भएको छ। शनिबारको सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले बैठकलाई निश्चित गरेको बताए।
‘पार्टीको केन्द्रीय सचिवालयको बैठकले पूर्वनिर्धारित भोलि १ बजे स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नै हुने कुरालाई निश्चित गर्दै उक्त बैठकमा नै अब पार्टीको संकट र यसको निवारण सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ’, उनले भने।
यसअघि गत मंसिर ३ गतेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति मंसिर १८ गतेलाई तोकेको थियो। तर, सचिवालयमा अध्यक्षद्वयको प्रस्तावले निम्तिएको असहज परिस्थितिले गर्दा मंसिर २१ गतेलाई बैठक सारिएको थियो। मंसिर १७ गतेको सचिवालय बैठकले १८ गतेको बैठकलाई २१ गतेसम्म सारेको हो।
बैठकप्रति अध्यक्ष ओली सकारात्मक छैनन्। उनले यसअघि नै बैठकको आवश्यकता नभएको दाबी गर्दै आएका छन्। शनिबारको सचिवालयले निश्चित गरेको आइतबारको स्थायी कमिटी बैठकप्रति पनि उनले रुची देखाएका छैनन्।
एक सचिवालय सदस्यका अनुसार उनले आइतबारको स्थायी कमिटी बैठकको उपयोगितामा प्रश्न उठाएका छन्। उनले बैठक नराख्न प्रस्ताव गरेका थिए। तर अन्य सदस्यले बैठक राखेर छलफल गर्नुपर्नेमा जोड दिएपछि बैठक बस्ने तय भयो। तर ओलीले बैठकमा आउने वा नआउने बारे केही भनेका छैनन्।
गत १६ गतेको सचिवालय बैठक पनि सुरुमा धुम्बाराहीकै लागि तोकिएको थियो। तर, ओलीले पार्टी कार्यालयमा नजाने अडान राखेपछि बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बसेको थियो। धुम्बाराहीमा नजानका लागि ओलीले सुरक्षा लगायतका अप्ठ्यारा देखाएको सार्वजनिक भएको थियो।
प्रवक्ता श्रेष्ठका अनुसार, आइतबारको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले फरकफरक सचिवालय बैठकमा पेश गरेको प्रस्तावमाथि छलफल गरिने छ। प्रचण्डले कात्तिक २८ गते र ओलीले मंसिर १३ को सचिवालय बैठकमा क्रमशः १९ र ३८ पृष्ठको प्रस्ताव पेश गरेका थिए। उनीहरुले आफ्नो प्रस्तावमा एकअर्काप्रति आलोचना र गुनासो गरेका छन्।
शनिबारको सचिवालय बैठकअघि दुई अध्यक्षबीच केहीबेर भेट पनि भएको थियो। तर त्यसले कुनै निष्कर्ष निकाल्न सकेन। ‘अध्यक्षहरुको बीचमा आज छलफल भयो। छलफल पार्टीको स्वाभाविक रुपमा समस्या र समाधानमा नै केन्द्रित थियो। तर आजकै छलफलले कुनै निष्कर्ष निकाल्न सम्भव पनि थिएन। र आज निष्कर्ष निस्किसकेको छैन’, श्रेष्ठले भने।
उनका अनुसार, स्थायी कमिटीकै बीचमा पनि अध्यक्षहरुको बीचमा छलफलको प्रक्रिया पनि अगाडि बढ्ने छ। र आवश्यकता पर्यो भने स्थायी कमिटीको बीचमा पनि पार्टीका नेताहरुको बीचमा र सचिवालयको अनौपचारिक, औपचारिक छलफल बस्नेछ।
ओलीले अध्यक्षद्वयको प्रस्तावहरुलाई अन्य कमिटीमा लैजान चाहेका थिएनन्। सुरुवातमा उनले प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्ने र माफी माग्नुपर्ने बताएका थिए। तर, पछिल्ला दिनमा उनी निकटका नेताहरुले दुवै अध्यक्षको प्रस्ताव फिर्ता लिने र संयुक्त प्रस्ताव ल्याउन प्रचण्डलाई सहमत गराउने प्रयास गरेका थिए। जसलाई प्रचण्डले अस्वीकार गरिदिएका थिए।
आज भएको ओली-प्रचण्डबीचको छलफलको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। उनीहरुबीच कुनै विशिष्ट सहमति नभएको भए ओली स्थायी कमिटीमा सहभागी हुने सम्भावना न्यून बन्ने छ।
२०७६ मंसिर २९ देखि पुस ६ गतेसम्म चलेको स्थायी कमिटीको बैठकमा पनि ओली सहभागी थिएनन्। धुम्बाराहीमै बसेको सो बैठकमा दुवै अध्यक्षको तर्फबाट प्रचण्डले नै प्रतिवेदन पेश गरेका थिए। उनैले ओलीलाई बैठकको रिपोर्टिङ गर्ने गरेका थिए। त्यतिबेला ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि आराम गरिरहेकाले उनको अनुपस्थिति त्यति चर्चाको विषय भएको थिएन। अर्कोतिर, सोही वर्षको मंसिर ४ गतेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेकाले बैठकमा प्रचण्डको अध्यक्षतालाई स्वभाविक ठानिएको थियो।
यसपटक भने पार्टी विवाद उत्कर्षमा पुगेको छ। र, ओलीले बैठकमा हुने छलफल आफू विरुद्ध लक्षित हुने आकलन गरेर अरुची देखाउँदै आएका छन्। त्यसैले पनि बैठकअघि उनको उपस्थिति वा अनुपस्थितिको चर्चा हुने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।