काठमाडौं- नेपाली फुटबल क्लबले एएफसी क्लब प्रतियोगिता खेल्न नपाउने भएका छन्। नेपाली फुटबल क्लबले एएफसी क्लब लाइसेन्सिङको लागि दिएको निवेदन एसियाली फुटबल महासंघ (एएफसी)ले अयोग्य ठहर गरेपछि प्रतियोगिता खेल्न नपाउने भएको हो।
२०७६ मा भएको सहिद स्मारक ए डिभिजन लिगमा रेलिगेसनमा परेका सरस्वती युथ क्लबले बाहेक १३ क्लबले एएफसी क्लब लाइसेन्सको लागि निवेदन दिएको थियो। तर क्लब लाइसेन्सिङको लागि नेपाली क्लबले न्यूनतम मापदण्ड पूरा नगरेका कारण एएफसीको प्रतियोगिता खेल्न नपाउने भएका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)को क्लब लाइसेन्सिङ समितिले लाइसेन्स दिनका लागि एएफसीको फस्ट इन्स्ट्यान्ट बडी (एफआइवी)मा निवेदन दिएको थियो। तर एफआइवीले नेपाली क्लबहरुले न्यूनतम मापदण्ड पूरा नगरेको निष्कर्ष निकाल्दै क्लब लाइसेन्सिङ दिन अस्वीकार गरेको हो।
नयाँ नियमअनुसार एएफसीको प्रतियोगिता खेल्न क्लबले विभिन्न मापदन्ड पूरा गर्नु पर्छ। क्लब लाइसेन्स लिनका लागि क्लबले अनिवार्य रुपमा क्लब आफ्नै एकेडेमी, मैदान, उमेर समूहका टिम लगायतका संरचना हुनुपर्छ। एन्फाले अब क्लब लाइसेन्सिङको मापदन्ड पूरा गर्न दुई वर्षसम्मको समय माग गर्न पाउनेछ।
नेपाली क्लबले लाइसेन्सको लागि आवदेन दिएकामध्ये त्रिभुवन आर्मीप्रति भने एएफसीले सकारात्मक प्रतिक्रिया दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।