खजुरा, बाँके- राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा मानवअधिकारको स्थिति सन्तोषजनक नरहेको बताएका छन्। नेपाली नागरिकले दृढ रुपमा मानव अधिकारको उपभोग गर्न नपाएको भन्दै उनले अझै मानव अधिकार उल्लंघनका घटनामा वृद्धि र दण्डहीनताले प्रश्रय पाइरहेको गुनासो गरे।
पहाडी जिल्ला रोल्पा, प्युठान, दाङमा मानव अधिकार द्वन्द्वपीडितको अवस्था अध्ययन तथा अनुगमन गरी राष्ट्रिय मानवअधिकार आयोगको उच्चस्तरीय टोली नेपालगन्ज फर्केपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष शर्माले भने, 'मुलुकमा पर्याप्त कानुन छन् तर कार्यान्वयन भएको पाइँदैन, विधिको शासनको पालना गरेमात्र मुलुकमा हरेक नागरिकको सम्मान हुनेछ।'
उनले देशमा थुप्रै मानवअधिकारसँग सम्बन्धित घटनालाई अध्ययन गरी नेपाल सरकारलाई कारबाहीका लागि सिफारिस गरे पनि त्यसको कार्यान्वयन निकै न्युन रहेको पाइएको बताए।
सरकार आफैमा स्थिायित्व नहुनाले राजनीतिक खिचातानीका कारण यस्ता विषयमा प्रभावकारिता बढ्न नसकेको बताउँदै दलहरु नागरिकप्रति जिम्मेवार नभई आफ्नो स्वार्थमा लागेको उनले टिप्पणी गरे।
अध्यक्ष शर्माले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका तथा बेपत्ता पारिएका व्यक्तिले अहिलेसम्म न्याय नपाएकामा चिन्ता व्यक्त गर्दै पीडितको न्यायका लागि बनेका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको आयोगबाट न्यायिक प्रक्रिया अघि बढ्न नसकेको बताए। 'सरकारले झारो टार्न र पीडितलाई सहानुभूतिका लागि मात्र दुई वटा आयोग बनायो तर पूर्ण रुपमा जिम्मेवारी दिएको छैन,' उनले भने, 'कसरी काम अगाडि बढ्नु र पीडितले न्याय पाउनुु।'
आयोगका अध्यक्ष शर्मा नेतृत्वको टोलीमा आयोगका सदस्य गोविन्द पौडेल, सचिव बेदप्रसाद भट्टराई, नेपालगञ्ज कार्यालयका क्षेत्रीय निर्देशक मुरारी खरेल सहभागी छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।