काठमाडौं–सरकारले कञ्चनपुरको दोधारा चाँदनी र मुस्ताङको कोरलामा सुख्खा बन्दरगाह निर्माण गर्ने भएको छ। दुई देशबीच हुने व्यापारलाई सहजीकरण गर्न सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको हो।
दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाहको अघिल्लो साता उद्योग मन्त्री लेखराज भट्टले शिलान्यास गरेका थिए। बन्दरगाहको गुरुयोजना बनाउने काम तीव्र रुपमा अघि बढेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।
‘अघिल्लो साता मन्त्री भट्टसहितको टोलीले दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाहको शिलान्यास गर्दै त्यसको अवलोकनसमेत गरेको छ,’ विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले भने, ‘हामीले अब त्यसको गुरुयोजना निर्माणलाई तिब्रता दिएका छौं। त्यसलगत्तै निर्माण सुरु हुन्छ।’
त्यसैगरी समितिले चीनसँगको सीमा नाका मुस्ताङको कोरलामा समेत सुख्खा बन्दरगाह निर्माणको तयारी गरिरहेको छ। यता रसुवाको टिमुरेमा बन्दै गरेको सुख्खा बन्दरगाहको प्रगति १० प्रतिशत भएको छ। चीन सरकारको सहयोगमा निर्माण थालिएको टिमुरे सुख्खा बन्दरगाहको प्रगति १० प्रतिशत भएको समितिले जनाएको छ।
काठमाडौंको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहको भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ। आगामी जेठसम्ममा निर्माण सक्ने लक्ष्यका साथ उक्त आयोजनाको काम तीव्र रुपमा अघि बढिरहेको समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।