काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ। मतदान बिहान ८ बजेदेखि सुरु हुनेछ। महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएका छन्।
जिल्ला/नगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फका लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुनेछ। कोरोना संक्रमित मतदाताका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ।
शुक्रबारको बन्दसत्रमा वरिष्ठ उपाध्यक्षका दुई उम्मेद्वारले एक अर्को पक्षले आफूलाई समर्थन गर्न आग्रह गरेका थिए। महासंघको निर्वाचनमा व्यवसायीहरु २ समूहमा विभाजन भएका छन्। एउटा समूहको नेतृत्व वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले गरेका छन् भने अर्को समूहको नेतृत्व व्यवसायी चन्द्रप्रसाद ढकालले गरेका छन्।
साधारणसभापछि स्वतः अध्यक्ष हुन लागेका हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, वर्तमान अध्यक्ष भवानी राणा र निर्वतमान अध्यक्ष पशुपति मुरारकाले प्रधान समूहलाई समर्थन गरेका छन्। यसैगरी ढकाल समूहलाई महासंघका विशिष्ठ सदस्य तथा पूर्वअध्यक्ष चण्डीराज ढकालको समर्थन रहेको छ।
प्रधान समूहबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्। यसैगरी चन्द्रप्रसाद ढकाल समूहबाट एसोसिएटमा रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी चुनावी मैदानमा छन्।
यसैगरी, जिल्ला/नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगततर्फ १४ जनाका लागि २८ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३१ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।