काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयनको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको महासंघको बन्दसत्र शुक्रबार सकिएको छ। शनिबार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ।
बन्दसत्रमा वरिष्ठ उपाध्यक्षका दुई उम्मेद्वारले एक अर्को पक्षले आफूलाई समर्थन गर्न आग्रह गरेका थिए। यसका साथै उनीहरू एकअर्कालाई आरोप लगाउन र खण्डन गर्नमा बढी केन्द्रित भएका थिए।
महासंघको निर्वाचनमा व्यवसायीहरु २ समूहमा विभाजन भएका छन्। एउटा समूहको नेतृत्व वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले गरेका छन् भने अर्को समूहको नेतृत्व व्यवसायी चन्द्रप्रसाद ढकालले गरेका छन्।
साधारणसभापछि स्वतः अध्यक्ष हुन लागेका हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, वर्तमान अध्यक्ष भवानी राणा र निर्वतमान अध्यक्ष पशुपति मुरारकाले प्रधान समूहलाई समर्थन गरेका छन्। यसैगरी ढकाल समूहलाई महासंघका विशिष्ठ सदस्य तथा पूर्वअध्यक्ष चण्डीराज ढकालको सर्मथन रहेको छ।
प्रधान समूहबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्। यसैगरी चन्द्रप्रसाद ढकाल समूहबाट एसोसिएटमा रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी चुनावी मैदानमा छन्।
यसैगरी, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगततर्फ १४ जनाका लागि २८ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३१ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन्।
बन्दसत्रमा बोल्दै वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार ढकालले आफूसँग भिजन भएको बताएका थिए। तर अर्काको एजेन्डा बोक्नेले संस्थाको विकास गर्न नसक्ने बताए। ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेन्डा हुनुपर्ने बताए। महासंघको जारी साधारणसभाका क्रममा आजको बन्दसत्रमा उनले भने, 'कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसँग महासंघलाई कुशलतापूर्पका हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेन्डा हुनुपर्छ।'
ढकालले संस्थाको नेतृत्वमा आएर आफ्नै भिजन र एजेन्डामार्फत् महासंघलाई आमूल परिवर्तन गर्दै व्यवसायी साथीको मनोबल उच्च बनाउने र देशमा उद्योगमैत्री तथा व्यवसायमैत्री वावतावरण बनाउन सक्ने दाबी गरेका थिए।
‘मसँग आफ्नै भिजन र एजेन्डा छन्, हामीलाई चाहिएको निजी क्षेत्रका एजेन्डा हुन्। जो हामीले बोकेका छौँ, आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु,' उनले भने, 'महासंघमा हुने विजय या पराजय सफलता र असफलता होइनन्। महाधिवेशनपछि पनि हामी टाढा हुने छैनौँ। हाम्रो व्यापार र हाम्रो उद्यमले हामीलाई जोड्ने नै छ। आधा शताब्दी लामो गौरवशाली इतिहास बोकेको नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्नका लागि निजी क्षेत्रको विकास गर्ने एजेन्डा र भिजन भएको वास्तविक व्यवसायी नै आउनुपर्छ।'
बन्दसत्र कार्यक्रममा बोल्दै अर्का वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानले यसपटक आफूलाई छाडिदिन र अर्को पटक नेतृत्व लिनका लागि ढकालसँग आग्रह गरेका थिए।
ढकाललाई असल र सरल व्यक्तिका रूपमा पाएको बताउँदै एकपटक भाइ (चन्द्र ढकाल)ले दाजु (किशोर प्रधान)को लिडरसिपलाई सफल बनाएर आफू सेकेन्ड लाइनमा बस्नु पर्ने बताएका थिए। ढकाल आफ्नो प्रिय भाई भएको भन्दै उनले यसपटक आफूलाई छाडे अर्को पटक सघाउने स्पष्ट संकेत गरेका थिए। सहमति नभएको खण्डमा आगामी अध्यक्ष गोल्छाको १० वर्षे कार्ययोजनाअनुसार आफूहरुले काम गर्ने र यसका लागि आफ्नो प्यानललाई नै जिताउन उनले आग्रह गरे।
शनिबार मतदान
महासंघको शनिबार हुने निर्वाचनको तयारी पूरा भएको छ। निर्वाचन बिहान ८ बजेदेखि शुरु हुनेछ। महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ। जिल्लारनगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुनेछ। कोरोना संक्रमित मतदाताका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।