राजविराज– सरकारी स्तरवाट सुरु भएको विद्यार्थी भर्ना अभियानमा व्यक्तिगत प्रयास पनि सुरु भएको छ।
नेपाली तथा मैथिली भाषाकी गायिका अञ्जु यादवले आइतबार सप्तरीको राजगढ गाउँपालिका ५, मलेकपुरका तीन जना डोम बालिकालाई विद्यालय भर्ना गराएकी छन्।
१२ वर्षीया पिंकी मरिक, ८ वर्षीया सजनकुमारी मरिक र ९ वर्षीया शान्ति मरिकलाई गाउँकै राष्ट्रिय आधारभूत विद्यालयको कक्षा १ मा भर्ना गरिएको छ। पृतम मरिक र श्यामदेवीका छोरीहरु पिंकी र सजन तथा रुदन र रामकुमारी मरिककी छोरी शान्ति आर्थिक अभाव र घरायसी व्यस्तताका कारण विद्यालय जानबाट वञ्चित थिए।
गायिका यादवले बालिकाहरुको कक्षा १० सम्मको पढाइ, लत्ताकपडा र अन्य आधारभूत सामग्रीका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन्। उनी आफू पनि सप्तऋषि कलेज राजविराजको बिबिए दोस्रो सेमेस्टरकी विद्यार्थी हुन्।
गीत गाए वापत प्राप्त हुने पैसाबाट आफ्नो पढाइ चलिरहेको भन्दै उनले व्यक्तिगत खर्च कटाएर तीन बालिकाको पढाइमा लगाउने बताइन्।
‘कक्षा १० सम्म उनीहरुको पढाइको जिम्मा मेरो भयो’, यादवले भनिन्, ‘अवस्था अनुसार त्यसपछि के गर्न सकिन्छ, अनि निर्णय लिन्छु।’
उनले बालबालिकालाई विद्यालय भर्ना गराएर औपचारिकता पूरा गर्नुभन्दा पनि व्यावहारिक शिक्षा दिएर जीवन निर्वाह गर्न सक्ने बनाउनु आफ्नो उद्देश्य भएको बताइन्।
छोरीहरु विद्यालय जान थालेपछि दुवै परिवारका अभिभावक दंग परेका छन्। सबैले यस्तै सहयोग गरे सबै दलित र गरिब परिवारका बालबालिकाले पढ्ने अवसर पाउने उनीहरुले बताए।
२९ बालबालिका रहेको ९ घर डोम बस्तीमा अहिले पनि १० जना बालबालिका आर्थिक र पारिवारिक समस्याका कारण विद्यालय जान नसकेको पृतम मरिकले जानकारी दिए।
वडा अध्यक्ष लक्ष्मी नारायण ठाकुरले आफुहरु सतप्रतिशत वालवालिका विद्यालय भर्ना गर्ने अभियानमा जुटेको बताए। करिब ५० बालबालिका अहिले पनि विद्यालय बाहिर रहेको हुनसक्ने उनको अनुमान छ।
विद्यालयमा भर्ना भएका बालबालिकालाई टिकाइराख्न विद्यालयको भौतिक तथा शैक्षिक सुधार आवश्यक रहेको ठाकुरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।