काठमाडौं–तिहारको भाइटीकाका दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि प्रवेश खूला गरिने भएको छ। पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली र काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यबीच मंगलबार भएको छलफलले मन्दिर खुला गर्ने निर्णय गरेको हो। पुनर्निर्माणपछि उक्त मन्दिरमा हालैमात्र गजुर प्रतिस्थापन गरिएको थिो। २०७२ सालको भूकम्पले रानीपोखरी र बाल गोपालेश्वर मन्दिर भत्किएको थियो।
रानीपोखरीस्थित बालगोपालेश्वरको मन्दिर पुनःनिर्माण पूरा भएकाले यो वर्षको तिहारमा खोल्ने निर्णय भएको हो। रानीपोखरीको बीचमा रहेको यो मन्दिर हरेक वर्ष भाइटीकाको दिनमात्र सर्वसाधारणका लागि खोलिन्छ।
पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीचको असमझदारीका कारण लामो समय मन्दिर पुनर्निर्माण रोकिएको थियो। महानगरले मापदण्डविपरीत मन्दिर निर्माण गर्न लागेको भन्दै पुरातत्व विभागले निर्माण रोक्न निर्देशन दिएपछि विवाद भएको थियो।
बालगोपालेश्वर मन्दिरमा भाइटीकाको दिन दाजुभाइ नभएका दिदीबहिनी तथा दिदीबहिनी नभएका दाजुभाइले टीका लगाउने गर्छन्। रानीपोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बगैंचा निमार्ण गर्ने, बत्ती जडान गरी झिलीमिली बनाउने, पोखरीको वरपर पर्खाल बनाउने, हरियाली र रंगीन पानीको फोहरा राख्ने महानगरपालिकाको योजना छ । ४ सय वर्ष पुरानो रानीपोखरीको निर्माण राजा प्रताप मल्लले कान्छा छोरा चक्रवतिन्द्र मल्लको मृत्युपछि रानीलाई शोकमुक्त गराउन गराएको इतिहासमा उल्लेख छ । पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरूसहितको सेतो मूर्ति छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।