काठमाडौं–केयर नेपालले समाज कल्याण परिषद्को सहयोगमा एलटिए रिसर्चमार्फत् प्राप्त भएको साढे ३ करोड रुपैयाँबराबरको ५ लाख फेससिल्ड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ। सोमबार आयोजित कार्यक्रम फेससिल्ड हस्तान्तरण गरिएको हो।
त्यसअवसरमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले महामारीको समयमा विभिन्न संघसंस्था र साझेदारहरुको सहयोग र समन्वयले सरकारको कोभिड प्रतिकार्यलाई सहयोग पुगेको बताए। उनले अग्रपंक्तिमा काम गर्ने सेवाप्रदायकहरुलाई विचार गरी गरिएको यो सहयोगका लागि केयर नेपाललाई धन्यवाद पनि दिए।
कार्यक्रममा समाज कल्याण परिषद्का सदस्य सचिव पुष्कर खातीले महामारीको समयमा प्रतिकार्य गर्न सरकारसँगै अरु साझेदारहरुको पनि उत्तिकै भूमिका रहेको बताए। यही अवस्थालाई मध्यनजर गर्दै समाज कल्याण परिषद् र महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपालमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहलाई सम्भव भएसम्म आफ्नो २०प्रतिशत बजेट कोभिड प्रतिकार्यका लागि छुट्याउन आग्रह गरेको थियो।
केय नेपालका राष्ट्रिय निर्देशक रेचल वोल्फले महामारीको यो समयमा रोग नियन्त्रण, रोकथाम र दीर्घकालीन पुनर्लाभका लागि सरकार, नागरिक समाज, विकास साझेदारले मिलेर काम गर्न जरुरी रहेको बताइन्। उनले हालसम्म केयर नेपाल कोभिड १९ प्रतिकार्य कार्यक्रमअन्तर्गत नै करिब ४ लाख मानिससम्म पुग्न सफल भएको पनि बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।