काठमाडौं–वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोग्य मिति समाप्त भएका खाद्य वस्तुमा पुनः नयाँ मिति राख्दै गर्दा पक्राउ परेकालाई एक वर्ष कैदसहित जरिवाना गरेको छ ।
गत असोज १५ गते कलंकी क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा मिति सकिएका उपभोग्य वस्तु बजारबाट सङ्कलन गरी नयाँ मिति राखेर पुनः बजारमा पठाउँदै गर्दा रङ्गेहात पक्राउ परेकालाई कारबाही गरिएको विभागले जनाएको छ।
पुनः म्याद राख्दै गर्दा पक्राउ परेका दुई कम्पनीका दुई जना सञ्चालकलाई एक वर्ष कैद तथा प्रतिव्यक्ति रु तीन÷तीन लाख जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए। उनका अनुसार असोज महिनामा वाणिज्य विभागका महानिर्देशक नेन्द्रप्रसाद सुवेदीको इजलासमा पेश भएका मुद्दामा आइतबार फैसला गर्दै उक्त निर्णय गरिएको हो ।
आयान डिस्ट्रिब्युटरका सञ्चालक भारत राजस्थानका रोनक बोथ्रा र विष्णुलक्ष्मी डिस्ट्रिब्युटरका सञ्चालक धादिङ गल्छीका शङ्कर बयलकोटीलाई कारबाही गरिएको हो। उनका अनुसार अनुसन्धानका क्रममा भारतीय नागरिक बोथ्राले आफ्नी श्रीमती विष्णु बोथ्रोको नाम पारेर विष्णुलक्ष्मी डिस्ट्रिब्युटर शङ्कर बयलकोटीका नाममा दर्ता गराएको पाइएको थियो ।
‘आफू आयनमा काम गर्ने र श्रीमतीको नाम पारेर कामदार बयलकोटीको नाममा छुट्टै कम्पनी दर्ता गराएर काम गरेको भेटियो, दुबैलाई कैदसहित जरिवाना गरेर कम्पनी खारेज गरियो’, उनले भने। दुई वर्षसम्म विष्णुलक्ष्मी डिस्ट्रिब्युटरका नाममा कम्पनी दर्ता नहुने निर्णय गर्दै उक्त कम्पनी खारेज गरिएको विभागले जनाएको छ।
उक्त मुद्दामा आयान डिस्ट्रिब्युटरका पुष्पादेवी अग्रवाल, मुन्ना ठाकुर, पप्पुकुमार ठाकुर, स्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी र विक्रमप्रसाद गुप्ता गरी सात जनालाई प्रतिव्यक्ति रु तीन लाख १२ हजार गरी रु १८ लाख ७२ हजार जरिवाना गरिएको छ।
दुई सञ्चालकसहित कामदार सात गरी नौ जनाले तोकिएको जरिवाना रकम जम्मा गरेपछि यसअघि पुष्टादेवी अग्रवालले जम्मा गरेको रु एक करोड धरौटी रकम फिर्ता हुने विभागले जनाएको छ।
असोज १५ गते आयानका सञ्चालकका रुपमा पक्राउ गरिएकी अग्रवाललाई रु एक करोड धरौटीमा असोज १६ गते छाडिएको थियो । विभागमा अग्रवालले आफ्नो नाममा कम्पनी दर्ता भए पनि कम्पनीको सबै जिम्मा बोथ्राले निर्वाह गरिरहेको जनाएपछि धरौटीमा छोडिएको थियो।
आयन र विष्णुलक्ष्मी डिस्ट्रिब्युटरमा रहेका रु दुई करोड ९४ लाख बराबरको म्याद सकिएका खाद्यवस्तु स्थानीय प्रहरी र जनप्रतिनिधिको रोहवरमा नष्ट हुने विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।