एजेन्सी–पेन्सिलभेनिया र मिसिगनपछि जर्जियामा समेत मतगणना रोक्न माग गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्प पक्षले मुद्दा दायर गरेको छ। यसअघि पेन्सिलभेनिया र मिसिगनमा मतगणना रोक्न डोनाल्ड ट्रम्पको अभियानका तर्फबाट मुद्दा दायर गरिएको थियो।
बुधबार ट्रम्प अभियानका तर्फबाट पेन्सिलभेनियाको मतगणना रोक्न अदालतमा मुद्दा दायर गरिएको हो। अहिलेसम्मको मत परिणाम अनुसार पेन्सिलभेनियामा ट्रम्पले अग्रता लिइरहेका छन्।
पेन्सिलभेनियामा पहिलो र दोश्रो हुने राष्ट्रपति उम्मेदबारबीच शून्य दशमलव ५ प्रतिशतभन्दा कम मतान्तर भए पुनः मतगणना गरिने जनाइएको छ । पेन्सिलभेनियाका सेक्रेटरी अफ स्टेट क्याथी बुकभारले पुनः मतगणना सम्भव भए पनि अवश्यम्भावी भने नभएको बताएका छन्।
सन् २०१६ को चुनावमा शून्य दशमलव ७ प्रतिशत मतान्तर भएका कारण पुनः मतगणना गर्नुपरेको थिएन। तर यसपटक के हुन्छ भनेर बेलुकासम्म कुर्नुपर्नेछ ।
त्यस्तै मिसिगनमा पनि मतगणना रोक्न माग गर्दै ट्रम्प अभियानका तर्फबाट मुद्दा दायर गरिएको छ । मतपत्र खोल्ने र गणना गर्ने प्रकृयामा अवलोकनका लागि अर्थपूर्ण पहुँच कायम नभएसम्म मतगणना रोक्न माग गर्दै मुद्दा दायर गरिएको उनीहरुले जनाएका छन्।
उता जो बाइडेनले चुनाव जितेको विसकन्सिनमा पुनः मतगणना हुनुपर्ने ट्रम्पको अभियानले माग गरेको छ । उनीहरुले विसकन्सिनमा पुनः मतगणनाका लागि आग्रह गर्ने जनाएका छन्। विसकन्सिनमा मतान्तर शून्य दशमलव २५ प्रतिशतभन्दा कम भएमा स्वतः पुनः मतगणना हुने प्रावधान रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।