काठमाडौं- काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार गरिएको पुनर्गठनमा केही नयाँ अनुहारलाई अवसर दिइएको छ, कतिपयको मन्त्रालय परिवर्तन गरिएको छ।
यसअघि रक्षा मन्त्री रहेका ईश्वर पोखरेललाई भने 'कारबाही' गरिएको छ। उनले यसअघि सम्हाल्दै आएको रक्षा मन्त्रालयको प्रधानमन्त्री ओली स्वयंले सम्हाल्ने भएका छन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्ति अनुसार अब पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ।
पोखरेल पटकपटक विवादमा आइरहने मन्त्री थिए। उनका कामकारबाहीलाई लिएर प्रधानमन्त्री ओली स्वयं असन्तुष्ट रहेको खबर सार्वजनिक भएको थियो। विशेषगरी कोरोनासँग जुध्ने कामको नेतृत्व गरेका पोखरेलले सन्तोषजनक काम नगरेको मात्रै होइन, कैयौं विवादित निर्णय समेत गरेको आरोप लाग्दै आएको छ।
मेडिकल सामग्री खरिदमा भएको भ्रष्टाचारमा उनको नाम जोडिएको थियो। मेडिकल सामग्री खरिदको काममा मन्त्रीले दबाब दिएकाले सेनाको छविमा नै धुमिल भएको भन्दै मेडिकल सामग्री खरिदबाट नेपाली सेना बाहिरिएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मा कसैलाई मन्त्री बनाउनका लागि मात्रै दिइने जिम्मेवारीको रुपमा लिइन्छ। बहालवाला मन्त्रीको जिम्मेवारी परिवर्तन गरेको सो जिम्मेवारी दिनुलाई 'कारबाही' कै रुपमा लिइन्छ। यद्यपि, यो नयाँ अभ्यास भने होइन।
२०६७ सालमा गठन भएको झलनाथ खनाल नेतृत्वको मन्त्रिपरिषद्मा अहिलेका कृषिमन्त्री घनश्याम भुसालले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मेवारी पाएका थिए।
बुधबार पुनर्गठित मन्त्रिपरिषद्मा अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेललाई दिइएको छ। यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लिलानाथ श्रेष्ठले पाएका छन्। सहरी विकासमा कृष्ण गाेपाल श्रेष्ठलाई ल्याइएको छ। सञ्चार मन्त्रालयको जिम्मा यसअघि बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।