मुम्बई–मुम्बई उच्च अदालतले बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु तथा लागुऔषध खरिद–बिक्रीमा अनुसन्धानका लागि हिरासतमा रहेकी अभिनेत्री रिया चक्रवर्तीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले रिया धरौटीमा रिहा हुन सक्ने आदेश बुधबार गरेको हो। तर अदालतले रियाका भाइ शौविक चक्रवर्तीको जमानत अपिल भने खारेज गरेको छ।
यसअघि मंगलबार विशेष अदालतले नार्कोटिक्स एण्ड साइकोट्रोपिक सब्सटेन्स एक्टका अनुसार रिया चक्रवर्तीको न्यायीक हिरासतको समय अक्टुबर २० सम्म बढाएको थियो।
उनीहरुलाई सुशान्त मृत्यु प्रकरणमा कथित लागूऔषधको विषयमा लागुऔषध नियन्त्रण ब्यूरोले गिरफ्तार गरेको थियो। तर अदालतले ग्रेटर मुम्बईभन्दा बाहिर जानका लागि रियाले अनुसन्धान अधिकृतलाई जानकारी दिनुपर्ने शर्त भने राखेको छ।
अदालतले उनलाई आफ्नो पासपोर्ट बुझाउन भनेको छ। देशबाहिर जानुपरेमा अदालतको आदेश लिनुपर्ने अदातलको आदेशमा उल्लेख छ।
अदालतले सुशान्तको घरमा काम गर्ने स्यामुअल मिरान्डा र दिपेश सावन्तलाई पनि जमानतमा रिहा गर्न आदेश दिएको छ। अदालतको आदेशपछि उनीहरु आजै रिहा हुन सक्ने छन्। अनुसन्धान चलिरहँदा रियाले उच्च न्यायलयमा धरौटीमा लागि निवेदन दिएकी थिइन् । पहिलो र दोस्रो पटक म्याद थप गर्दा न्यायलयले धरौटीको माग अस्वीकार गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।