काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना पदाधिकारी तथा सदस्यलाई राजनीतिक दल वा राजनीतिक उद्देश्य भएका संस्थासँगको आबद्धता त्याग्न निर्देशन दिएको छ।
संघका महासचिव डा. चिरञ्जीवी खड्काले आन्तरिक परिपत्र जारी गर्दै अन्तर्राष्ट्रिय समन्वय परिषद्का सबै पदाधिकारी तथा सदस्यलाई राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा धारण गरेको पद तथा सदस्यता सात दिनभित्र त्याग्न निर्देशन दिएका हुन्।
संघको विधानले एनआरएनएलाई गैरराजनीतिक संस्थाका रूपमा परिभाषित गरेको उल्लेख गर्दै महासचिव खड्काले संस्थाको गैरराजनीतिक पहिचान, स्वायत्तता र स्वतन्त्र अस्तित्व संरक्षण गर्न यस्तो निर्देशन जारी गरिएको जनाएका छन्।
उनका अनुसार संघका केही पदाधिकारी तथा सदस्य राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यका रूपमा निर्वाचित, मनोनीत वा चयन भएको भन्दै विभिन्न उजुरी तथा गुनासा प्राप्त भएका थिए।
उक्त विषयमा गत असोज १८ र १९ गते (४ र ५ अक्टोबर २०२६) सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११७औँ बैठकमा विस्तृत छलफल भएको थियो। बैठकले संघको गैरराजनीतिक पहिचान र विधानमा निहित मूलभूत मान्यताको संरक्षण तथा कार्यान्वयन सुनिश्चित गर्ने निर्णय गरेको परिपत्रमा उल्लेख छ।
सात दिनभित्र पद त्याग्नुपर्ने
महासचिव खड्काले राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यका रूपमा रहेका संघका पदाधिकारी तथा सदस्यलाई परिपत्र प्राप्त भएको मितिले सात दिनभित्र त्यस्तो पद वा सदस्यता त्याग्न भनेका छन्।
पद वा सदस्यता त्याग गरेपछि त्यसको आधिकारिक प्रमाणसहित लिखित जानकारी संघको सचिवालयमा उपलब्ध गराउनुपर्नेछ।
तोकिएको समयभित्र जानकारी नदिएमा वा प्राप्त उजुरीमाथिको छानबिनबाट विधानविपरीत काम भएको पुष्टि भएमा संघको विधान र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।
किन खोज्दैछ एनआरएनए राजनीतिक आबद्धताबाट दूरी ?
एनआरएनएले राजनीतिक आबद्धताबाट आफ्ना पदाधिकारीलाई अलग गराउन खोज्नुको मुख्य कारण संस्थाको गैरराजनीतिक चरित्र र संस्थागत स्वायत्तता जोगाउनु रहेको परिपत्रमा उल्लेख छ।
विभिन्न राजनीतिक दलनिकट संगठनमा पदाधिकारी तथा सदस्यहरू आबद्ध हुँदा संघको निर्णय प्रक्रिया, संस्थागत एकता र निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भएकाले यस्तो निर्देशन आएको देखिन्छ।
संघले आफ्नो विधान, संस्थापक उद्देश्य र संस्थागत मर्यादाअनुसार गैरराजनीतिक पहिचान कायम राख्न सबै पदाधिकारी तथा सदस्यको सहयोग अपेक्षा गरेको छ।
यो निर्देशन तत्काल लागू हुने महासचिव खड्काले जारी गरेको परिपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।