काठमाडौं- काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कामपाको समृद्धिका लागि नागरिकसँगै रहेर सहकार्य गर्ने बताएका छन्।
महानगरपालिकाको वडा नं १४ ले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा कामपाका प्रमुख शाक्यले समृद्धिका लागि नागरिकको सक्रियता आवश्यक हुने बताएका हुन्।
शाक्यले भने, 'नगरको विकास नागरिकका लागि हो, त्यसैले कामपाको सबै विकासमा नागरिक सहभागी हुन आवश्यक छ।'
महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले नगरवासीको अपेक्षा एकीकृत विकास रहेकाले सोहीअनुरुप विकासका काम गरिने बताइन्।
यस्तै, वडा नं १४ का वडाध्यक्ष शोभा सापकोटाले वडामा भएका २२ वटाभन्दा बढी टोल विकास समूहसँगको सहकार्यमा बाटोमा ब्लक छाप्ने, ढुंगा बिछ्याउने, मंगल निर्माण गर्ने, इनार सफा गर्ने, आरसिसी ढलान गर्ने, सडक पिच गर्ने काम सम्पन्न गरिएको जानकारी दिइन्।
कलंकी चोकको व्यवस्थापन, बजार र उद्योगधन्धाको तथ्यांक संकलन, पार्किङस्थलको पहिचान र व्यवस्थापन, बल्खु खोला करिडोर निर्माण, सार्वजनिक शौचालय निर्माण जस्ता काम तत्कालको योजनामा रहेको सापकोटाले उल्लेख गरिन्।
कार्यक्रममा सहभागीले भूकम्पीय क्षति न्यूनीकरणका लागि सचेतना अभियान, दुर्व्यसन न्यूनीकरण तथा सुधार केन्द्रको स्थापना, खाद्य वस्तुको गुणस्तर मापन, पाटीपौवाको संरक्षण जस्ता काम पनि वडाले गर्नुपर्ने माग गरेका थिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।