काठमाडौं- नेपाली कांग्रेसमा उपसभापति विमलेन्द्र निधिले हुम्लामा चीनले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा छानबिन नगरी सो भूमि चीनकै भएको भन्ने नेपाल सरकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।
हुम्लाका निर्वाचित जनप्रतिनिधिको सर्वदलीय संयन्त्रले अतिक्रमित सो भूमि नेपालकै हो भनेर गरेको दावीको बेवास्ता गर्दै सरकारका तर्फबाट आएको अभिव्यक्ति आपत्तिजनक भएको उपसभापति निधिको भनाइ थियो।
चीनले नेपाली भूमि अतिक्रमण गरेको बिषयमा बिबाद भइरहेका बेला चीनका लागि नेपाली राजदूतले चिनियाँ शासनप्रणाली अनुकरणीय भन्दै दिएको अभिव्यक्तिप्रति पनि निधिले आपत्ति जनाए।
उनले चिनियाँ शासन व्यबस्था अबलम्बन गर्नका लागि राजदूत नपठाएको जिकीर गरे। निधिको प्रश्न थियो, ‘जननिर्वाचित संविधान सभाद्वारा जारी संघीय लोकतान्त्रिक प्रणाली हटाएर चिनियाँ शासन प्रणाली अनुकरण गर्नका लागि नेपाल सरकारले चीनका लागि राजदूत पठाएको हो र?’
शहिद स्मृति प्रतिष्ठानद्वारा मंगलबार आयोजित शहिदको बलिदान र वर्तमान राजनीतिक परिवेश विषयक जुम बैठकलाई सम्बोधन गर्दै निधिले सत्ताधारी दलका यी र यस्ता अभिव्यक्तिका कारण वर्तमान राजनीतिक प्रणालीमाथि खतरा उत्पन्न भएको बताए।
सो कार्यक्रममा प्रथम राष्टपति डा. रामवरण यादवले शहीदको बलिदानबाट प्राप्त परिबर्तनलाई निष्कर्षमा पुर्याउने जिम्मा नेपाली कांग्रेसको भएको स्मरण गराउँदै लोकतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा ल्याएर कांग्रेस बलियो नभएसम्म लोकतन्त्रको भबिश्यमाथि खतरा आइ नै रहने बताए।
कार्यक्रममा राजनीतिक चिन्तक प्रदीप गिरी, पूर्वसभामुख दमननाथ ढुंगाना, नेता राजेन्द्र खरेल, दुर्गा सुवेदीलगायतले शहिदको सपना पूरा गर्नका लागि लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।