काठमाडौं– नेपालका चर्चित ब्यान्डका सदस्यहरु आबद्ध नयाँ ब्यान्ड ‘प्रोजेक्ट वान’ले ‘फेरि उठ्नेछ नेपाल-४’ शीर्षकमा देशका मुख्य सहरहरुमा सांगीतिक यात्रा सुरु गरेको छ। सांगीतक कन्सर्टको सुरुवात काभ्रेको बनेपाबाट भएको हो। ब्यान्डले शनिबार साँझ बनेपामा भरपूर सांगीतिक मनोरन्जन प्रदान गर्यो।
ब्यान्डको गायन समूहमा मुक्ति एन्ड रिभाइभलका मुक्ति शाक्य, रविन एन्ड द न्यु रिभोल्युसनका रविन तामाङ, अभया एन्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्निल शर्मा र अनप्रास्ताका निरन शाही छन्।
वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिस्ट हरि महर्जन, दि एक्सका पूर्व लिड गिटारिस्ट शरद श्रेष्ठ, अभया एन्ड दि स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, मुक्ति एन्ड रिभाइभलका रोशन कंसाकार र सुरज विष्ट, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन्।
संगीत पारखीलाई मध्यनजर गर्दै विभिन्न ब्यान्डमा रहेका चर्चित भोकलिस्ट, गिटारिस्टहरुलाई एकै समूहमा ल्याएर ब्यान्ड स्थापना गरिएको संस्थापक विकेश कायस्थले बताए। उनले राजधानी र देशका अन्य सहरमा पनि कन्सर्ट गर्ने बताए। आफ्नै समूहबाट नयाँ एल्बम सार्वजनिक गर्ने तयारीसमेत रहेको उनको भनाइ छ।
ब्यान्डवागन बाई पोजिटिभ भाइब्सको प्रस्तुतिमा सन् २०१६ मा जावलाखेलमा नेपथ्यसँगै प्रोजेक्ट वानले 'फेरि उठ्नेछ नेपाल' कार्यक्रम गरेको थियो। ब्यान्डले २०१७ मा नेपथ्यसँगै पोखरामा दोस्रो संस्करण र २०१८ को सुरुवातमै 'फेरि उठ्नेछ नेपाल ३' आयोजना गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।