खोटाङ- चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ।
रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो।
पाण्डे भेराइटिजविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध नियन्त्रण ऐन अनुसारको मुद्दा दर्ता भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए। मुद्दा दर्तासँगै व्यवसायी पाण्डेबाट रु दुई लाख धरौटी मागिएको प्रशासनले जनाएको छ।
एक ग्राहकले गत चैत ३० गते खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको मौखिक जानकारी दिएपछि जिल्ला प्रशासन कार्यालयले सोही दिन राति पाण्डे भेराइटिजको पसल तथा गोदाममा शिलबन्दी गरेको थियो। शिलबन्दी पसल तथा गोदामबाट प्रहरीले बैसाख ११ गते परीक्षणका लागि चिनीको नमुना संकलन गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।