काठमाडौं- आज २५६२औं बुद्ध जयन्ति । शान्तिका दूत गौतम बुद्धका उपदेश र मानव कल्याणमा बुद्धले दिएको योगदानको संस्मरण गर्दै नेपाल लगायत बुद्ध धर्म अँगालेका विविन्न देशमा बुद्ध जयन्ति मनाइँदैछ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीलाई बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
बुद्धजयन्तीको अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएका गौतम बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको बताए।
‘शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नु भएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत छ। बुद्ध विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचार विश्वभर यति लोकप्रिय हुन सकेका हुन्,’ शुभकामना सन्देशमा भनिएको छ।
सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, 'गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनु भएको छ। बुद्ध हामी सबै नेपालीका लागि गर्वका प्रतीक हुनुहुन्छ।'
प्रधानमन्त्री ओलीले बुद्ध धर्मको विश्व भातृत्वको भावनालाई आत्मसात् गर्दै सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र सबैको कल्याण होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।