जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकार सञ्चालनका लागि सरकार सञ्चालनको लागि बन्दुक, पैसा र कलम आवश्यक रहेको बताएका छन्। मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै राउतले यसका लागि प्रदेश सरकार प्रदेश प्रहरी ऐन, निजामति सेवा ऐन, कर सम्बन्धी ऐन चाँडै ल्याउन लागेको समेत बताए।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले सुशासनलाई आफनो पहिलो प्राथमिकताका राखेको बताउँदै त्यसको सुरुवात आफैंबाट गर्न सबैमा आग्रह समेत गरे।
मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई कमजोर बनाइ, स्थानीय सरकारलाई बढी बोझ दिएर संघीयतालाई नै असफल बनाउने षडयन्त्र भइरहे पनि प्रदेश २ को सरकार र यहाँका जनताले त्यस्ता षडयन्त्रलाई सफल हुन नदिने समेत बताए।
कार्यक्रममा विशिष्ट अतिथि समेत रहेका मुख्यमन्त्री राउतले मुलुकमा संघीयता ल्याउन स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै स्वास्थ्यकर्मीहरुको न्यायोचित मागका साथै पहिचान, सम्मान र अधिकारका लागि प्रदेश सरकार तत्पर रहेको बताए।
कार्यक्रममा बोल्दै संघीय 8वादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय सरकार संघीयता विरोधी गतिविधिमा लागेको आरोप लगाएका छन्। यादवले आफूहरुले संघीयतालाई संस्थागत गर्दै संविधान संशोधनका लागि सरकारलाई समर्थन गरे पनि सरकार त्यसको विपरित दिशामा लागेको आरोप लगाएका हुन्।
निर्वाचनमा भाग लिएकै भरमा आफूहरुले संविधान स्वीकार गरिसकेको भ्रम नपाल्न ठूला दलहरुलाई सचेत गराउदै अध्यक्ष यादवले सबैलाई स्वीकार्य हुनेगरी संविधान संशोधन नभएसम्म मुलुकमा स्थिरता आउन नसक्ने चेतावनी समेत उनले दिए।
मुलुक संघीय गणतन्त्रमा गए पनि केन्द्रिकृत मानसिकता बोकेका शासकवर्गले संघीयतालाई कमजोर पार्ने षडयन्त्रमा लागेको जिकिर गरे। संविधान निर्माणका क्रममा ठूला तीन दलले संघीयतालाई कमजोर पार्ने मानसिकताले नै शिक्षा र स्वास्थ्यलाई स्थानीय तहमा राखेर अन्ततः स्वास्थ्य र शिक्षाको अवस्थालाई दयनीय बनाउने षडयन्त्र गरेको आरोप लगाए। उनले शिक्षा र स्वास्थ्य सम्बन्धी अधिकार प्रदेश स्तरमा हुनुपर्ने समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।