साहित्य र सृजना समाजका प्रतिछाया हुन्। यसैले कविले युग सचेतनाको बिगुल फुकेको हुन्छ। कविमा भएको वैचारिक रुप, नवचेतनाको भुङ्ग्रो उठाउन सक्ने शैली र भावनाको प्रचुर वेगले परिस्थिति र अवस्थाको चित्रण गर्छन्। कामको सिलसिलामा लाग्दै गर्दा र यायावरी जीवनबाट गुज्रदै आफूले देखेका, भोगेका र अनुभूत गरेका विषयहरुलाई सरोजराज पन्तले आफ्नो आफ्नो ‘समर्पण’ कविता संग्रहमा व्यक्त गरेका छन्। समर्पण उनले कोरेका ८२ वटा कविताहरुको संगालो हो।
पर्वत जिल्लाको फलेवास नगरपालिका-७, लिमिठानामा जन्मेका पन्तले आफू सानै छँदा बितेका बुबाआमाको स्मरणमा ‘समर्पण’ को सृजना गरेको पाइन्छ। जन्म स्थान पर्वत, फलेवास लिमिठाना भए पनि लामो समयसम्म शिक्षण कार्यमा संलग्न रही बाग्लुङमा बस्दै आएका पन्तले हालसम्म कविता र अनुसन्धात्मक कृति गरी झण्डै एक दर्जन पुस्तक प्रकाशन गरेका छन्।
संग्रहमा देशप्रेम, प्रकृति वर्णन, पुर्खाका गाथा तथा समसमायिक रचना समेटिएका छन्। उनले आफ्ना कवितामार्फत् समाजको सार्थक रुपान्तरणका लागि के–कसरी अघि बढ्न सकिन्छ भन्ने दृष्टिकोण अघि सारेका छन्। समाजमा जरा गाडेर बसेका रुग्ण विचार, खोटो आचरण, खुराफाती व्यवहार, राजनीतिक बेइमानी, सामाजिक–साँस्कृतिक कुसंस्कार, विसंगति तथा वेविचारका माथि नाराजगी व्यक्त गरेका छन्। यसैगरी संग्रहभित्र विविध परिकारका रसिला, चोपिला, कसिला व्यंगसँगै सामाजिक, धार्मिक, आर्थिक, सांस्कृतिक पक्ष र जीवनको समग्र बुझाइ, भोगाईलाई छर्लङ पाउन सकिन्छ।
जीवन रहेछ संघर्ष नामको अनौठो एक खेल
मानिस ठूलो संगतले बन्ने संगतैले पर्ने जेल । समर्पणबाट
दुई दिनको जीवनमा जिवन्त रुपमा एक अर्काप्रति समर्पित भएर लाग्नु पर्दछ भन्ने सन्देश उनका कवितामा झल्किएका छन्। उनका सृजनामा प्रेमभावसँगै जटिल जीवनका क्षणसमेत प्रस्तुत भएका छन्।
ज्यान नफालौँ गई परदेश, गरौँ देशको सम्मान
रचौँ भविष्य यही भूमिमा, हुन्छ नेपाल लन्डन । नजाऔँ भो विदेशबाट
त्यसैगरी वैदेशिक रोजगारले खुसीमात्र होइन रोदन, व्यथा पनि दिएकाले जति दुःख पोखें पनि, कसैले नसुन्ने गरेको अभिव्यक्ति कवितामा छ। दुःख गरे नपाललाई लन्डन बनाउन सकिन्छ। यसका लागि विदेश नगई स्वदेशको मान र सम्मान गर्नुपर्छ र वर्तमान मानिसका प्रवृत्तिमा परिर्वतन हुनुपर्छ भनेका छन् उनले।
हटोस् वैमनस्यताको राग बनेर नयाँ सिर्जना र संरचना। भूकम्पले ल्याएको साम्यवादबाट
यसैगरी दुःख, कष्ट दिने र पीडाबोध गराउने मानिसका प्रवृत्तिको विरोध गर्दै समयमै न्याय दिन दबाब दिने काम उनका कविताले गरेका छन्।
क्षण क्षणमा रुप फेर्ने छेपारो नै पो हो कि यो मन
चिन्नै गाह्रो, बुझ्नै गाह्रो, नौरंगी छन् यी हाम्रा मन !! यो मनबाट
मानिसका सोच विचार भावनाहरु छिनछिनमा फेरिन्छन्, जसले गर्दा मानिसलाई चिन्नै र बुझ्न गाह्रो परेको छ। छेपारोका जस्तै नौरङ्गी मन भएकाले अहिले काम गर्न कठिन हुने गरेको छ।
कति सोच्नु आमा शिशिर कलि यी झापडहरु?
कति भन्नु आमा यस धर्ती दुखेसा पिरहरु? । आमा तिम्रो स्मृतिमा
त्यस्तै पन्तका कवितामा आमाको मायासँगै रोदन–व्यथा पोखिएका छन्। यसैगरी दुःख, कष्ट र पीडा दिने प्रवृत्ति बढेकाले आमालाई उनले कवितामार्फत् पुकारेका छन्। यसैगरी माया प्रेम, प्रकृति प्रेमसँग बेरिएका र माया प्रेममा जेलिएका रचनासँगै जन्मदिने आमाको मायाले सताएको, मायाले पिरोलिएको विषयलाई लिएर समेत कविता सृजना गर्नुले मातृत्व प्रेम प्रति सन्तान बढी संवेदनशील रहनु पर्ने यथार्थता यस सङ्ग्रहबाट स्पष्ट हुन्छ।
महङ्गीले धुरी छोयो, भ्रष्टाचारी झनै बढे
समस्याको भुमरीमा, सर्वहारा पर्दै गए। कृतघ्न
अहिले महङ्गी बढेको, भ्रष्टाचारी झनै सलबलाएका र समस्याहरुको भुमरीमा गरीब, निमुखा र सर्वहारा पर्दै गएकाले यसको अन्त्य हुनु पर्ने विषयमा जोड दिएका छन्।
पढेका मानिस ओझेलमा धनाढ्य हुने प्रमुख अतिथि
शैक्षिक प्रमाणपत्र किन्छ पैसाले, बढ्दै गर्यो बेथिति । आश्चर्य शक्ति
यसमा पढेका मानिस ओझेलमा परेका र धन हुने मानिस प्रमुख अतिथिका रुपका पुज्ने कुरीति, कुसंस्कार, विसंगति, विकृतिको पर्दाफास पनि कविताले गरेका छन्।
अन्न पानीमा अडेको, जिन्दगीको यो कथा
परिरहने आपत विपत, मर्म–दर्द सबैतिर । आत्मा मेरो उघ्रिँदैन
मानिसको जीवन अन्न पानीमा अडेको हुन्छ। दुई दिनको जिन्दगीमा सबैलाई दुख, पिर, आपतविपत, मर्म–दर्द सबैतिर परिरहन्छ ।
भोकमरीसँग सामना गर्न खोज्दा
जीवनयापनका लागि तन्मय सङ्घर्ष गर्न लाग्दा
सदा चाकलमाडीले सताउँछ यो जिन्दगी। खै ! के हो यो जिन्दगी?
अहिले समाजका विसङ्गत र नकारात्मक रुझानहरुलाई दुत्कार्दै आदर्श समाज व्यवस्थाका पक्षमा निर्भिक वकालत गरेका छन् सर्जक पन्तले।
सात भाइ छोरा यी आमाका, अब पाउन रोक्नुपर्छ
अंश बण्डा गर्ने होइन, सधै संघारीमा बस्नुपर्छ। ‘सात भाइ, कोही छैन पराई’
सघीयतामा सातवटा प्रदेश बनाइएको र अब थप्नु हुन्न, एक भई टुक्रिन दिन हुँदैन, सधै मिलेर बस्नुपर्छ भन्ने सन्देश उनका कविताले दिएका छन्।
उठ्न नदिऊँ अब कुनै सामन्तवाद, यो वा त्यो कुनै भेषमा । गणतन्त्रबाट
गणतन्त्रमा पनि शोषक र सामन्तवादको कारण भोग्नु परेका पीडालाई उनले चित्रण गर्दे काममा तीव्र इच्छा भए पनि गरीब, असहायप्रति विवेक, बुद्धि नआउने प्रवृत्तिको आलोचना गरेका छन्।
संग्रहमा रहेका ८२ वटा कविताले जीवनका समग्रपक्षको उजागर गरेका छन्। विश्वमा देखिएका विविध परिर्वतनको अनुभूति संग्रहमा उल्लेख छ। जीवनको प्रारम्भदेखि हालसम्म आपूmले अनुभूति गरेका विषयलाई पन्तले कवितामार्पत् प्रस्तुत गरेका छन्। जन्मदिने आमाको मायाले सताएको, मायाले पिरोलिएको विषयलाई लिएर कविता सृजना गर्नुले मातृत्व प्रेमको संवेदनशीलता र यथार्थता यस संग्रहमा पाइन्छ। उनका सृजनाले जीवनका हरेक पलसँग मेल खाने जीवनका वास्तविकता चित्रण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।