काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताबारे एक्ला-एक्लै छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच वार्ता भएको प्रचण्डका सहयोगी जोगबहादुर महराले जानकारी दिए। उनका अनुसार पार्टी एकतालाई निष्कर्षमा पुर्याउने उद्देश्यले दुवै अध्यक्ष एक्ला-एक्लै छलफलमा जुटेका हुन्।
एमाले र माओवादीले वैशाख ९ मा पार्टी एकताको घोषणा गर्ने बताए पनि संख्यामा कुरा नमिल्दा घोषणा हुन सकेको थिएन। तथापि, वैशाख ९ मा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसमा संयुक्त आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै कुरा टुंग्याएर चाँडै पार्टी एकता घोषणा गर्ने बाचा गरेका थिए।
तर, त्यसपछि दुवै अध्यक्षबीच वार्ता भएको थिएन। बिहीबार रौतहटमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले 'भोलिसम्ममा पार्टी एकता टुंगो लाग्ने' भनेर अभिव्यक्ति दिएका थिए। यही सेरोफेरोमा शुक्रबार दुवै अध्यक्षले एक्ला-एक्लै छलफल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।