एजेन्सी- कोलोम्बियामा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा परी ५ प्रदर्शनकारीको मृत्यु भएको छ। बुधबार ४६ वर्षीय जेभियर ओर्डनेजलाई प्रहरीले क्रूरतापूर्वक हत्या गरेको भन्दै विरोध प्रदर्शन भएको हो।
बुधबार ४६ वर्षीय जेभियर ओर्डनेजले सहयोगको अपिल गरिरहँदा पनि प्रहरीले क्रूरतापूर्वक कतै चल्न नसक्ने गरी जमिनमा लडाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसको करिब १५ मिनेटपछि नजिकैको अस्पतालमा उनको मृत्यु भएको थियो।
त्यसैको विरोधमा ठूलो संख्यामा आएका प्रदर्शनकारीहरूले प्रहरी कार्यालयअघि ढुंगामुढासमेत गरेका छन्। जसमा ३० जना प्रहरीसमेत घाइते भएका छन्।
कोलम्बियाका अन्य थुप्रै स्थानहरूमा पनि यसको विरोधमा प्रदर्शनहरू भइरहेका छन्। प्रदर्शनकारीहरूले विभिन्न स्थानका प्रहरी कार्यालयहरूमा तोडफोड गर्नुका साथै ७० भन्दा धेरै गाडीहरू तोडफोड गरेका छन्।




सामाजिक दूरी कायम नगरेको भन्दै प्रहरीले दमन गर्न थालेपछि आन्दोलनले हिंसात्मक रूप लिएको थियो।
गत जेठमा एक अश्वेत नागरिक जर्ज फ्लोयडको पनि अमेरिकी प्रहरीले हत्या गरेको थियो। त्यसबेला प्रहरीको ज्यादती र जातीय विभेदविरुद्ध अमेरिका मात्र नभएर विश्वका धेरै स्थानमा ठूला प्रदर्शनहरु भएका थिए। जर्ज फ्लोएडको मृत्यु भएपछि यस विषयले विश्व नै तरगिंत बनेको थियो।
तस्बिरहरू : एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।