‘कुनै पनि ठाउँमा भएको अन्याय हरेक ठाउँको न्यायका लागि घातक हुन्छ,’ रंगभेदको विपक्षमा वकालत गर्ने मार्टिन लुथर किङ जुनियरको यो भनाइ अहिले पनि उत्तिकै सान्दर्भिक छ।
अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा एक निहत्था अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोयडलाई प्रहरीले शारीरिक यातना दिएर हत्या गरेको भन्दै अमेरिकी सहरहरूमा प्रदर्शन भइरहेको छ।
मिनियापोलिसका प्रहरी अधिकृत डेरेक चौभिनले जर्ज फ्लोयडलाई ८ मिनेटभन्दा केही बढी समय घाँटीमा घुँडाले थिचेको हृदयविदारक दृश्य सार्वजनिक भएपछि विभिन्न सहरमा विरोध भएको हो। विरोध भएपछि प्रहरीले अत्यधिक रूपमा बल प्रयोग गरिरहेको छ।
जर्जको घाँटी प्रहरीले थिचिरहँदा निस्सासिरहेको अवस्थामा उनले ‘आइ कान्ट ब्रेथ अर्थात् मैले सास फेर्न सकेको छैन’ भन्दै त्यस्तो नगर्न बारम्बार अनुरोध गरिरहेका थिए। उनले अन्तिम साससम्म भनेको त्यही आग्रह ‘आइ कान्ट ब्रेथ‚ प्लिज लिभ मी’ जस्ता शब्दहरू लेखिएको टेम्प्लेट बोकेर प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। प्रदर्शनलाई शान्त बनाउनका लागि प्रहरीले अश्रुग्यास प्रयोगका साथै कतिपय स्थानमा हवाई फायर समेत गरिरहेको छ।
गोरा जातिले नै खनेको खाडलमा अहिले उनीहरू नै परिरहेका छन्। अमेरिकामा अहिले चौतर्फी नश्लवाद र यसले निम्त्याएका दुर्घटनाका विरूद्ध सबै नगरिक सडकमा प्रदर्शन गरिरहेका छन्। तीव्र प्रदर्शन भएसँगै करिब ४० सहरमा कर्फ्यू लगाइएको छ। सेना परिचालन गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घरबाट बाहिर ननिस्कनका लागि गरिएको निषेधाज्ञालाई पनि उल्लंघन गरेर प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।
अमेरिकी उपन्यासकार टोनी मोरिसनले कुनैबेला भनेकी थिइन्‚ ‘गोराहरूको अर्को नाम नै अमेरिका हो।’ यो भनाइ अहिले पनि अर्थपूर्ण देखिन्छ। रङ्गको आधारमा मानिसमाथि भेदभाव गर्नेहरू प्रशस्तै छन्। त्यसैको परिणाम हो यो घटना। कालो भएकै आधारमा कसैले ज्यान गुमाउनुपर्ने‚ यो अवस्थाबाट धेरै पुस्ता गुज्रिसकेका छन्।
अमेरिकामा परिवर्तनका बिगुल धेरै नै फुकिए। तर अहिलेसम्म कतिपय मानिसको मानसिकता भने त्यसभन्दा माथि उठ्न सकेको छैन। सरकार नै रङ्गका आधारमा भेदभाव गर्छ। नागरिकको सुरक्षा दिन बसेको प्रहरी नै काला र गोरामा भेद देख्छ। सबैका लागि अन्धो कानुनले पनि नदेखेको यो नश्लीय विभेदको खाडल अब कसले देख्ने?
प्रहरीद्वारा गरिएको हिंसाको घटनालाई प्रत्यक्ष निगरानी गर्ने वेबसाइटका अनुसार सन् २०१३ देखि २०१९ सम्ममा प्रहरीको हातबाट भएको ९९ प्रतिशत हत्यामा कुनै पनि प्रहरी अधिकारीमाथि आरोप लगाइएको छैन। अहिले यो घटनाको भिडियो भाइरल भएसँगै यस्ता आँकडाहरू धमाधम सार्वजनिक भइरहेका छन्।
अमेरिकाका विभिन्न स्थानमा दशौं हजारको संख्यामा प्रदर्शनकारीहरू उक्त घटनाको विरोधमा सडकमा उत्रिएका छन्। उनीहरूको एकमात्र माग छ, अश्वेत नागरिक जर्ज फ्लोयडका हत्या आरोपी प्रहरीलाई कडाभन्दा कडा सजाय होस् र घटनामा संलग्न अरु प्रहरीलाई पनि गिरफ्तार गरियोस्।
फ्लोयड अचेत भइसक्दा पनि डेरेक चौभिनले झण्डै ३ मिनेटसम्म फ्लोयडको घाँटी थिचेको आरोप लगाइएको छ। ४४ वर्षीय डेरेकलाई पक्राउ गरिसकिएको छ। उनलाई सोमबार अदालतमा उपस्थित गराइनेछ।
सिकागो र न्यूयोर्कलगायतका धेरै शहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। फिलाडेल्फियामा प्रदर्शनकारीले पसलका झ्यालहरुमा ढुंगामुडा गरेर तोडफोड गरेका छन्।
राष्ट्रपति ट्रम्पले मिनियापोलिसमा भएका लुटपाट र आगजनीका लागि अति दक्षिणपन्थी समूह सक्रिय रहेको आरोप लगाएका छन्। प्रदर्शनकारीहरूले फ्लोयडको स्मृतिलाई पनि अनादर गरेको ट्रम्पको दाबी छ। ट्रम्पले भनेका छन्, ‘हामीले एउटा अराजक सानो समूहलाई हाम्रा शहरहरू तोडफोड गर्ने छुट दिनु हुँदैन। मेरो प्रशासनले भीडको हिंसा रोक्नेछ। अब यसलाई निर्मम ढंगबाट रोक्नुको कुनै विकल्प छैन।’
साथै उनले ह्वाइट हाउसबाट मृतकको परिवारलाई सान्त्वना दिँदै अनुसन्धान द्रूत गतिमा अघि बढाइने बताएका छन्।
अमेरिकी सीमा नाघेर प्रदर्शन क्यानाडाको टोरन्टोसम्म पुगिसकेको छ। मिनेसोटाका गभर्नर टिम वाल्जले मिनियापोलिस सेन्टपल क्षेत्रमा प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन १३ हजार शक्तिशाली राष्ट्रिय गार्ड (अर्धसैनिक प्रहरी) परिचालन गरिएको बताएका छन्।
मिनियापोलिसतर्फ जाने प्रायः राजमार्गहरूमा शनिबार राति सैनिक हेलिकप्टरहरूले आकाशबाट गस्ती गरेका थिए।
‘यस्तो क्रुरताको विरुद्धमा प्रदर्शन गर्नु अधिकार र आवश्यकता दुवै हो। तर आगजनी र अनावश्यक तोडफोड गर्नु उचित होइन। मानिसको जीवनलाई खतरामा लैजाने हिंसा हामीले चाहेका होइनौं,’ अमेरिकी पूर्व उपराष्ट्रपति जो विडेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।
कसरी भयो घटना?
केही दिनअघि अमेरिकाको मिनेसोटा राज्यमा प्रहरीको हातबाट ४६ वर्षीय अश्वेत व्यक्ति जर्ज फ्लोयडको मृत्यु भइसकेपछि अहिले त्यहाँको माहोल दिनप्रतिदिन झन् भयावह बनेको छ।
यो घटना सुरू भएको थियो २५ मे साँझमा। जब जर्ज चुरोट किन्नका लागि किराना पसल गएका थिए। उनले चुरोट किनेर पसलमा पैसा दिएपछि पसलमा कार्यरत स्टाफलाई लाग्यो, जर्जले नक्कली नोट दिइरहेका छन्।
त्यसपछि ती स्टाफले त्यो खबर प्रहरीलाई दिनका लागि साँझ ठिक ८ बजेर १ मिनेटमा प्रहरीलाई फोन गरे। ‘म चुरोट फिर्ता गर भनिरहेको छु। तर चुरोट किन्न आएको व्यक्तिले दिनै मानिरहेको छैन,’ फोनमा उनले भनेका थिए‚ ‘उनले रक्सी पिएका छन्। उनी आफ्नै नियन्त्रणमा छैनन्।’ यी सबै विवरणहरू अधिकारीले जारी गरेको रिपोर्टमा लेखिएको छ।
फोन गरेको केही बेरपछि करीब ८ बजेर ८ मिनेट जाँदा प्रहरीको गाडी त्यहाँ आइपुग्छ। त्यसबेला जर्ज आफ्ना अन्य दुई साथीसँग नजिकैको गाडीमा बसिरहेका हुन्छन्। त्यहीबेला एक प्रहरी अधिकारी बन्दुकसहित गाडीबाट बाहिर निस्कन्छन्।
रिपोर्टमा त्यहाँ आएका प्रहरी थोमस लेनले जर्जको हात समाएर उनलाई कारबाट बाहिर ल्याएको उल्लेख गरिएको छ। जर्जले आफ्नो हातमा हत्कडी लगाउन लागेपछि त्यसको विरोध गरिरहेका थिए।
थोमस लेनका अनुसार नक्कली नोटको प्रयोग गरेकाले जर्जलाई गिरफ्तार गरिएको थियो तर त्यसको जर्जले त्यसको विरोध गरिरहेका थिए।
रिपोर्टका अनुसार जर्ज हत्कडी लगाएपछि जमिनमा ढलेका थिए। त्यही बेला उनले प्रहरीलाई आफूलाई क्लस्टेरोफोविया (बन्द कोठामा डर लाग्ने प्रकृतिको रोग)को समस्या भएको बताए। त्यो भन्दै गर्दा अर्का प्रहरी अधिकारी डेरेक त्यहाँ आइपुग्छन्। उनी र अर्का प्रहरी अधिकारी जर्जलाई पुलिस आफ्नो गाडीमा राख्नका लागि केही कसरत गरिरहेका हुन्छन्।
स्थानीय समयानुसार साँझको ठिक ८ बजेर १९ मिनेट जाँदा डेरेकले जर्जलाई भुइँमा पछारेर उनको घाँटीमा आफ्नो घुँडाले दबाउन थाल्छन्। त्यो समय जर्जको हातमा हत्कडी बाँधिएकाले उनी निरीह बन्दै जमिनमा धसिएको गालाको बलले उठ्ने कोशिस गरिरहेका हुन्छन्। तर, प्रहरीको एउटा समूहको अगाडि उनको बल निष्फल भएको भिडियोमा पनि देख्न सकिन्छ।
त्यहीबेला त्यहाँ उपस्थित भएका प्रत्यक्षदर्शीले त्यो घटनाको भिडियो रेकर्ड गरिरहेका थिए। डेरेकले जर्जको घाँटीमा आफ्नो घुँडाले थिचिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।
भिडियोमा आफ्नो घाँटीमा परेको अत्यधिक दबाबका कारण डेरेक र अन्य प्रहरीसँग जर्ज गुहार मागिरहेका देखिन्छन्। उनी बारम्बार ‘आइ कान्ट ब्रेथ अर्थात् मैले सास फेर्न सकिरहेको छैन’ मलाई छोडजस्ता वाक्यहरू बोलिरहेका हुन्छन् तर त्यसको कुनै वास्ता नगरी केही प्रहरी त्यहाँ जम्मा भएको भीडलाई शान्त बनाउन खोजिरहेका देखिन्छन् भने केही प्रहरी जर्जको छट्पट्टिरहेको शरीरलाई नियन्त्रण गर्न खोजिरहेका देखिन्छन्। ‘मलाई छोडिदेउ‚ मैले सास फेर्न सकेको छैन‚ यिनीहरूले मलाई मार्छन्‚ मलाई बचाउनुस्। मलाई नमार!’ भन्दै कहिले प्रहरीसँग त कहिले त्यहाँ जम्मा भएका भीडसँग जर्ज गुहार मागिरहेका थिए। तर उनको गुहार बालुवामा पानी पोखिएझैं भयो।
घटनाको अनुसन्धान गरी सार्जनिक गरिएको रिपोर्टमा भनिएको छ- डेरेकले ८ बजेर २६ मिनेट जाँदासम्म जर्जको गर्दन दबाइरहेका थिए। त्यसपछि त्यहाँ जम्मा भएका मानिसले जर्जलाई छोड्दिनका लागि धेरै नै अनुरोध गर्छन् तर प्रहरीले उनीहरूका कुरा सुन्दैनन्।
डेरेकले ठिक ८ बजेर २७ मिनेट जाँदा जर्जको घाँटीबाट आफ्नो घुँडा हटाएका थिए। यसपछि शान्त भएका जर्जलाई अस्पताल पुर्याइयो र अस्पताल पुर्याइएको १ घण्टापछि उनलाई मृत घोषित गरिएको थियो।
किराना पसलको मालिकका अनुसार जर्ज प्रायः उक्त पसलमा आइरहन्थे। पसलका मालिक त्यो दिन पसलमा आएका थिएनन्। आफूले नभ्याएका कारण उनले आफ्नो कुनै स्टाफलाई पसलमा राखेको उनले बताए।
जर्ज टेक्सासको हस्टनबाट केही वर्षअघि मिनेसोटा राज्यको मिनीपोलिस भन्ने ठाउँमा आएका थिए। उनी यहाँ राज्यमा बाउन्सरको रूपमा कार्यरत थिए। तर कोरोना भाइरस संक्रमणका कारण लाखौं मानिसहरू बेरोजगार भएसँगै उनको पनि जागिर छुटेको थियो।
मार्टिन लूथर किङ जुनियरले कुनैबेला भनेका थिए‚ ‘मेरो एउटा सपना छ- काला केटा र केटी अनि गोरा केटा र केटी एकआपसमा हात समाएर सँगै हिँडून्।’ तर, यो एउटा भनाइमा मात्रै सिमितजस्तो भएको छ। कालो भएकै आधारमा कसैको अपराध सानो र ठूलो हुने समाजमा यस्ता नाराहरूलाई कसैले वास्ता गरेको देखिँदैन।
प्रहरी र जर्जबीच के कुरामा विवाद भएको थियो भन्नेबारे भने उक्त भिडियोमा देखिएको छैन। भिडियोमा एक प्रहरी अधिकारीले आफ्नो घुँडाले जर्जको घाँटी थिचेको मात्र देखिएको छ। प्रहरी प्रशासनका अनुसार यो घटनामा ४ प्रहरी- डेरेक चौभिन‚ टू थाओ‚ थोमस लेन र जे एलेक्जेन्डर संलग्न थिए। बिहीबार जर्जको मृत्यु भएको ठाउँमा जम्मा भएर विभिन्न प्रदर्शनकारीहरूले स्थानीय प्रहरी चौकी र त्यहीँ नजिकै रहेका दुईटा भवनहरू समेत जलाएका थिए।
संयुक्त राष्ट्रका मानवअधिकार संगठनका प्रमुख मिसेल ब्याचलेटले पनि जर्ज फ्लोयडको मृत्युको निन्दा गरेका छन्। उनले भनेका छन्‚, ‘यो हत्याको पछाडि नश्लीय भेदभावको ठूलो हात छ। यसलाई स्वीकार गरेर अघि बढ्नु जरूरी हुन्छ।’ उनले शान्तिपूर्ण तरिकाले आफ्नो माग राख्नका लागि प्रदर्शनकारीहरूसँग आग्रह गरेका छन्। उनले प्रहरीलाई पनि प्रदर्शनकारीमा अझ हिंसा भड्काउने किसिमका कुनै पनि कारबाही नगर्न सुझाव दिएका छन्।
घटनाको बढ्दो राजनीतिकरण
यस्तो भिडियो सार्वजनिक भएलगत्तै विभिन्न संगठनहरूले यसको व्यापक रूपमा विरोध गरिरहेका छन्। यसैगरी नेसनल एशोसियशन फर द एडभान्समेन्ट अफ कलर्ड पिपलले एक विज्ञप्ति जारी गर्दै‚ ‘यस्तो किसिमको हिंसा‚ काला जातीमाथि गरिएको हिंसाको चरमोत्कर्ष हो। यो नश्लीय भेदभाव‚ जेनोफोबिया र पूर्वाग्राहबाट प्रेरित छ।’ विज्ञप्तिमा थप भनिएको छ‚ ‘हामी अब अन्य मर्न चाहँदैनौं।’
यो घटनापछि अमेरिकामा नश्लीय हिंसाको इतिहास चर्चाको विषय बनेको छ। काला जातीका मानिसमाथि प्रहरीको बर्बरतालाई लिएर मानिसहरूमा घृणा पैदा भएको छ।
यसैगरी मिनेपोलिसका मेयर जेकब फ्रेले एक ट्विट गर्दै ‘अमेरिकामा कालो भएर जन्मनु मृत्युको कारण नबनोस्’ भनेका छन्।
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले एक ट्वीट गर्दै यो गम्भीर प्रकारको घटना भएकाले यसलाई सामान्य रूपमा नलिनका लागि आग्रह गरेका छन्।
यो घटनाले अमेरिकी समाज र कानूनी संस्थामा नश्लीय भेदभावको विषयलाई फेरि उठान गरेको छ। यही घटनालाई लिएर प्रहरी‚ सरकार र क्रिमिनल जस्टिस सिस्टमको भूमिकाको विषयमा चर्चा भइरहेको छ।
सदियौंदेखि यस्ता किसिमका बर्बरता हुँदै आएका छन्। सन् १९६६ मा पहिलोपटक यसरी काला जातीमाथि हुने गरेको क्रूर हत्याको विरूद्धमा ब्ल्याक प्यान्थर पार्टी अस्तित्वमा आएको थियो।
यसैगरी सन् २०१४ मा फर्गुसनमा एक गोरा जातीका प्रहरी अधिकारीले १८ वर्षका काला जातीका कमाइकल ब्राउनको हत्या गरेपछि अर्को संगठन ब्ल्याक लाइभ म्याटर्सको नामले अस्तित्वमा आएको थियो।
प्रहरी दमनका पछिल्ला आँकडा
वासिङ्टन पोस्टले सन् २०१५ को जनावरीमा प्रहरीको गोलीबाट हुने हत्याको डेटाबेसको आधारमा करिब ४ हजार ४ सय मानिसको प्रहरीको गोली लागेर मृत्यु हुने गरेको सार्वजनिक गरेको थियो।
यो डेटाबेसका अनुसार ‘यस्तो घटनामा प्रहरीले काला अमेरिकीहरूलाई निर्दयतापूर्वक मारेको’ पाइएको छ। यसका अनुसार अमेरिकाको कुल जनसंख्याको १३ प्रतिशत हिस्सा काला जातीले ओगटेका छन्।
उक्त डेटाबेसका अनुसार-
- प्रहरीको हातबाट गोरा जातीको तुलनामा चार गुणा बढी काला जातीका मानिसको मृत्यु हुने गरेको छ।
- प्रहरीको गोलीबाट मर्नेमा अधिक पुरूष रहेको पाइएको छ। त्यसमध्ये पनि २० देखि ४० वर्षभित्रका मानिस रहेका छन्।
- सन् २०१५ देखि अहिलेसम्म प्रहरीको गोलीबाट औसतमा हरेक दिन ३ जनाको मृत्यु हुने गरेको छ।
यही वेबसाइटका अनुसार सन् २०१९ मा मात्र १ हजार ९९ जनाको मृत्यु भएको छ। सन् २०१६ मा सार्वजनिक गरिएको एक आँकडाअनुसार कुल ७ लाख १ हजार प्रहरीमध्ये जम्मा २७ प्रतिशतमात्र काला जातिबाट छनौट गरिएको थियो।
सन् २०१७ मा सार्वजनिक गरिएको एक अध्ययनअनुसार काला रङ्गका अफिसरको तुलनामा गोरा रङ्गका अफिसरलाई बढी सम्मानको दृष्टीले हेर्ने गरेको पाइएको छ। अब्राहम लिङ्कनले भनेका छन्‚ ‘सफलताको कुनै रङ्ग हुँदैन।’ तर यहाँ प्रायः क्षेत्रमा ‘ह्वाइट ओन्ली अर्थात् गोरालाई मात्र’ भन्ने यी ठूला काला अक्षरले हरेक काला अमेरिकीलाई गिज्याइरहन्छ।
सन् २०१६ मा गरिएको अर्को अध्ययनअनुसार कुनै आपराधिक घटनामा गोरा जातीको तुलनामा २.७ गुणा ज्यादा काला जातीका व्यक्तिलाई गिरफ्तार गरिएको पाइएको छ।
वासिङ्टन पोस्टमा रेडली बाल्कोद्वारा प्रकाशित एक आर्टिकलमा उनले लेखेका छन्‚ ‘कुनै एक गोरो प्रहरी अफिसरलाई गरिएको अत्याचारको भिडियो हेर्दा हाम्रो रगत तात्छ‚ तर मलाई अचम्म लागेको त यो छ कि काला जातीका प्रायः मानिसहरू यस्तो घटनाको शिकार भइरहन्छन् तर हामी उनीहरूको ठाउँमा आफूलाई राखेर कहिले हेर्दैनौं।’
-एजेन्सीहरुको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।