एजेन्सी–अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा पक्राउ गरिएकी अभिनेत्री रिया चक्रवर्तीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ। लागुऔषधि नियन्त्रण ब्यूरो (एनसिबी) ले उनलाई मंगलबार अपरान्ह ४ बजे पक्राउ गरेको हो।
रियाका वकिलले उनलाई धरौटीमा रिहा गर्न माग गरे पनि एनसिबीले २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा पठाउनुपर्ने जिकिर गरेको थियो। अदालतले रियाका वकिलको माग अस्वीकार गरेको हो।
सुशान्त मृत्यु प्रकरणमा लागुऔषधिको विषय सार्वजनिक भए पछि एनसिबीले केही दिनदेखि रियासँग सोधपुछ गरिरहेको थियो। मंगलबार पनि केही घण्टा बयान लिएपछि पक्राउ गर्ने निर्णय गरेको थियो।
यसअघि उनका भाइ शौविक चक्रवर्ती र सुशान्तका पूर्वम्यानेजरलगायत १० जना पक्राउ परिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।