मुम्बई–फिल्म अभिनेता सुशान्तसिंह राजपूत मृत्यु प्रकरणमा मुम्बई प्रहरीले सोमबार सुशान्तकी बहिनीविरुद्ध एफआइआर दर्ता गरेको छ। समाचार एजेन्सी एएनआईका अनुसार सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको उजुरीका आधारमा सुशान्तकी बहिनी प्रियंका सिंह, दिल्लीस्थित राममनोहर लोहिया अस्पतालका डा. तरुणकुमार र अन्यविरुद्ध मुम्बईको बान्द्रा प्रहरीमा एफआइआर दर्ता गरिएको हो।
बान्द्रा प्रहरीले उनीहरुविरुद्ध आत्महत्याका लागि प्रेरित गरेको तथा आपराधिक षडयन्त्र गरेको भन्दै एफआइआर दर्ता गरेको हो।
सोमबार रियाले बान्द्रा प्रहरीमा गएर लिखित उजुरी गरेकी थिइन्, जसमा सुशान्तकी बहिनी प्रियंका सिंह र डा. तरुणकुमारमाथि नक्कली प्रेस्क्रिप्सन र टेलिमेडिसिन गाइडलाइन्स उल्लंघनको आरोप लगाउँदै मुद्दा दर्ता गर्न आग्रह गरिएको थियो।
उजुरीमा रियाले गत ८ जुनमा सुशान्तले आफ्नी बहिनीसँगको मोबाइल मेसेज देखाएको र त्यसमा प्रियंकाले केही औषधि लिन आग्रह गरेको सन्देश भएको बताएकी छन्। त्यतिखेर आफूले बहिनीले भनेको भन्दा डाक्टरले भनेअनुसार नै औषधि प्रयोग गर्न आग्रह गर्दै सम्झाउने प्रयास गरेको रियाले उजुरीमा उल्लेख गरेकी छन्। उनले सुशान्तकी बहिनीले डा. तरुणकुमारसँग नक्कली प्रेस्क्रिप्सन बनाएको दाबी पनि गरेकी छन्।
यसै विषयमा सुशान्त र उनीबीच मतभेद भएको बताइएको छ।
रियाविरुद्ध यतिखेर सिबिआईले अनुसन्धान गरिरहेको छ। यसका साथै लागुऔषध नियन्त्रण ब्युरोले पनि लागुऔषध किनबेच तथा सेवनको विषयमा अलग्गै अनुसन्धान गरिरहेको छ। यही विषयमा एनसिबीले रियाका भाइ शौविक चक्रवर्ती, सुशान्तका पूर्वम्यानेजर स्यामुअल मिरान्डासहित ९ जनालाई पक्राउ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।