काठमाडौं- काठमाडौं उपत्यकामा तेस्रो पटक थप भएको निषेधाज्ञा तोड्दै रातो मच्छिद्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय बीच झडप भयो।बाजागाजासहित उपस्थित स्थानीयले करिब २० फिट जति रथ तान्दानतान्दै उनीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फाहोराले तितरबितर पारेको थियो। प्रर्दशनकारीले प्रहरीलाई ढुंगा र काठ पनि हानेका थिए। अहिले प्रहरीले पुल्चोकमा रहेको रातो मच्छिद्रनाथको रथलाई सुरक्षा दिएर राखेको छ।
रातो मच्छिन्द्रनाथको रथ पक्कै पनि सम्बन्धित पदाधिकारीले नै तानेको हुनुपर्ने धेरैको अनुमान थियो। तर यो अनुमान भने गलत रहेको दाबी गर्छन् ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन। आफूहरूलाई थाहै नभई रथ तानिएको उनले दाबी गरे। ‘रथ तान्नलाई क्षमापूजा गर्नुपर्छ। १९ गते क्षमापूजा राखेका छौँ,’ उनले भने, ‘कसले तान्यो हामीलाई जानकारी आएको छैन। यो बाहिरी मान्छेहरू आएर तानेका हुन्। हामीमाथि हस्तक्षेप भएको छ।’
उनका अनुसार ज्यापु समाज, गुठी संस्थान गरी १९ वटा संस्थाको आकस्मिक बैठक बसिरहेको छ। बैठकले यसबारेमा आधिकारिक धारणा सार्वजनिक गर्नेछ। विषम परिस्थितिमा रथयात्राबारे अब के गर्ने भन्ने पनि निर्णय बैठकबाट नै हुने भएको छ।
ललितपुरका मेयर चिरिबाबु महर्जनले रथ तानिएकोमा आश्चर्यचकित भएको बताए। ‘यहाँका गुठीयार, ज्यापु समाजलगायतका १९ वटा समाजको भदौ १० गते बैठक बसेको थियो। त्यो बैठकमा म पनि थिएँ,’ महर्जनले भने, ‘त्यो बैठकमा यही समाजभित्रकै विद्वतवर्ग र पञ्चांग समितिलाई जिम्मा दिने निर्णय गरेको थियो। उहाँहरूको परामर्शअनुसार अघि बढ्ने कुरा भएको थियो। यस विषयमा हामीले बुझिरहेका छौं।’
महर्जनका अनुसार, साउनमा लकडाउन खुकुलो भएपछि बुङमतीबाट देउता ल्याइयो। 'रथ तान्नैपर्ने मान्यता छ। तर विषम परिस्थिति भएकाले सावाधानी अप्नाउनै पर्ने पनि छ। तसर्थ विद्वतवर्गले गर्ने निर्णय कार्यान्वयन गराउन महानगरले सहयोग गर्छ।'
रथारोहण भएपछि रथ किन तान्नैपर्छ?
उपत्यकामा तिन जिल्लामा तीन ठूला जात्रा हुने गर्छन्। काठमाडौँको इन्द्रजात्रा, भक्तपुरको बिस्केट जात्रा र ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा। काठमाडौँको र भक्तपुरका ठूला जात्रा लकडाउनका कारण हुन सकेनन्। ललितपुरका मेयर चिरिबाबु महर्जनका अनुसार रातो मच्छिद्रनाथको जात्रा पनि यस वर्ष हुने/नहुनेमा दोधार नै थियो। तर लकडाउन खुकुलो बनाएसँगै रथ बनाइयो। साउन १० गते बुङमतीका देउता ल्याइयो।
संस्कृतिविद् ओम धौभडेलका अनुसार अघिपछि चैत्र महिनाको पूर्णिमाको विधिवत् पूजा गरेपछि रथ निमार्ण कार्य सुरु हुन्छ। रथ बनाउने काम गुठी संस्थानले गर्छ भने विधिवत् रुपमा क्षमापूजा गरेपछि ज्यापु समाजबाट रथ तान्ने गरिन्छ। गा बहालबाट रथ तानेर पाटनका गल्ली हुँदै जावालाखेल पुर्याएर पूजा गरेर भोटो देखाएपछि जात्रा सम्पन्न गरिन्छ।
हरेक १२ वर्षमा एकपटक रथ नै तानेर बुङमतीमा देउता पुर्याउने परम्परा छ। अघिपछि पूजा सकेपछि केही व्यक्तिहरुले खटमा राखेर देउता बुङमती पुर्याउने चलन छ। रथमा राखेर बुङमती देउता पुर्याएको यो वर्ष ८ वर्ष पुगको छ।
संस्कृतिविद् धौभडेल ललितपुरवासीले रथ नताने भक्तपुरवासीको हक लाग्ने लोकोक्ति रहेको हुँदा रथ तान्न स्थानीयहरुले जोड गरेको हुन सक्ने आँकलन गर्छन्। ‘उपत्यकामा पानीको हाहाकार भएपछि राजा नरेन्द्रदेवका पालामा भक्तपुर, पाटन र कान्तिपुरका केही प्रतिनिधि भारतको आसाममा गई मच्छिद्रनाथ ल्याई बुङमतीमा राखे,’ धौभडेलले भने, ‘देवता बोक्नेमा पाटनका व्यक्ति परेको हुँदा यो देवता पाटनकै क्षेत्र बुङमतीमा राख्ने र पूजा गर्न जिम्मा पनि पाटनबासीकै भागमा परेको थियो। त्यतिबेला नै पाटनले दसैंअघि पूजा नगरे भक्तपुरवासीको हक लाग्ने उक्ति रहेको र असोजमा मलमास परेको हुँदा रथ तानेको हुन सक्छ।’
उनका अनुसार स्थानीय र प्रशासनबीच समन्वय भएको र लोकोक्तिका कारण स्थानीय पनि दबाबमा परेको उनले उल्लेख गरे। यद्यपि महामारीका बेला धेरै भेला भएर रथ तान्दा जोखिम थप बढ्ने भएकाले सरकारले प्रहरी खटाएर रथ तानिदिएर थोरै मान्छेको रोहबरमा भोटो देखाएर देवतालाई बुङमती पुर्याउने वातावरण बनाउन भने चुकेको बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।