एजेन्सी - अफगानिस्तानको तालिबान सरकारका अधिकारीले पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्।
अधिकारीहरुका अनुसार पाकिस्तानले सीमावर्ती प्रान्त पक्तिकामा बमबारी गरेको छ । तालिबान सरकारका एक प्रान्तीय अधिकारीका अनुसार पाकिस्तानी सेनाले गरेको आक्रमणमा केही व्यक्तिको मृत्यु भएको छ। पाकिस्तानले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन।
यसैबीच अफगानिस्तान क्रिकेट बोर्ड एसीबीले पक्तिका मा भएको पाकिस्तानी आक्रमणमा तीन खेलाडी मारिएको बताएको छ। एसीबीले एक वक्तव्य जारी गर्दै आक्रमणको निन्दा गरेको हो । एसीबीले तीन खेलाडी कबीर, बिगतुल्लाह र हारुनको मृत्यु भएको स्पष्ट पारेको छ। आक्रमणमा अरु ५ जना मारिएको बताइएको छ।
यससँगै एसीबीले अफगानिस्तानले आगामी नोभेम्बरमा पाकिस्तानसँग हुने त्रिकोणात्मक टी-२० सिरिज नखेल्ने घोषणा गरेको छ । पाकिस्तान, अफगानिस्तान र श्रीलंकाबीच आगामी नोभेम्बर १७ देखि २९ सम्म त्रिकोणात्मक टी-२० श्रृंखला हुने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।