काठमाडौं– सुन तस्करीमा प्रत्यक्ष मिलेमतो देखिएपछि एसपी विकासराज खनाल र सइ बालकृष्ण सञ्जेललाई मुद्दा चलाउन छानबिन समितिले जिल्ला प्रहरी कार्यालय मोरङ पठाएको छ।
मानस्थलबाट हुने सुन तस्करीमा उनीहरुले प्रत्यक्ष रुपमा सघाएको छानबिन समितिका अधिकारीले जनाएका छन्।
उनीहरुविरुद्ध कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दा चल्नेछ। प्रहरीले छानबिनका लागि नियन्त्रणमा लिएका सइ गजेन्द्र रावलको भने तस्करीमा सघाएको प्रमाण भेटिएको छैन। उनलाई २ नम्बर गणमा नै राखिएको छ।
सुन तस्करमा मुख्य नाइके चुडामणि उप्रेतीलाई एसपी खनाल र सइ सञ्जेलले सघाएको खुलेको हो। खनाल २ वर्षअघि विमानस्थलमा कार्यरत रहँदा तस्करीमा सघाएका थएि। सञ्जेलले सनम शाक्य हत्या घटनामा उप्रेतीलाई जोगाउन सहयोग गरेका थिए।
उप्रेतीसँग सइ रावलको पनि पटक पटक फोन सम्पर्क देखिएको थियो। तर, सहयोग गरेको प्रमाण भेटिएको छैन। सुन तस्करीको सुराकी दिने भएकाले उप्रेतीसँग आफ्नो फोनमा कुरा हुने रावलले बताएका छन्।
गत १८ गते सुन तस्करीमा गिरोहमा आबद्ध भएका मोरङ उर्लाबारीका सनम शाक्यको हत्यापछि सेटिङ हुँदै आएको सुन तस्करीको पर्दाफास भएको हो। विमानस्थलमा एयरलाइन्सका कर्मचारी तथा प्रहरीलाई सेटिङ मिलाएर सो समूहले विगत ५ वर्षदेखि सुन तस्करी गर्दै आएको थियो। घटनामा संलग्न २४ जना पक्राउ परिसकेका छन्। शाक्यको अपहरण र हत्या मुद्दा पक्राउ परेका प्रहरी अधिकारीविरुद्ध समेत चलाउन लागिएको छ।
एसएसपी र डिएसपी फरार
सुन तस्करी प्रकरणमा छानबिनमा तानिएका एसएसपी र डिएसपी भने फरार छन्। एसएसपी श्याम खत्री र डिएसपी संजय राउत फरार भएका हुन्। डिएसपी राउत बयानका क्रममा गृह मन्त्रालयमा गएकोमा मन्त्रालयबाटै भागेका थिए। आफु पक्राउ पर्ने संकेत पाएपछि उनी शौचालय जाने भनेर भागेका थिए।
त्यस्तै डेढ वर्षअघिको साढे ३३ किलो सुन तस्करी प्रकरणमा पनि पक्राउ परेका एसएसपी श्याम खत्री बयान दिनै गएका छैनन्। अघिल्लो मुद्दामा सामान्य तारेखमा छुटेका उनी दुई सातादेखि विदामा बसेका छन्। पक्राउ पर्ने डरले उनी बयानमा नगएको स्रोत बताउँछ।
पूर्व डिआईजी गोविन्द निरौलालाई समेत मोरङ प्रहरीले अदालतबाट म्याद थप गरी मुद्दा प्रक्रिया अघि बढाइसकेको छ।
शाक्य हत्याको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको उजुरी परेपछि गृह मन्त्रालयले सहसचिव ईश्वरचन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले छानबिन पुरा गरी पत्रकार सम्मेलन गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।