प्रिय सखी!
व्रतालुका अनगिन्ती ताँतीहरूले वर्षौंदेखि
परिक्रमा गरिसकेका
दुर्गम गाउँका गुमनाम मन्दिरहरूदेखि
राजधानीको भव्य र नामुद पशुपतिनाथसम्म
सबका सब मौन छन्
मान्छेका असह्य वेदनाहरूमा
हरेक ईश्वर बेखबर छन्।
दुःखीको दिल बहलाउने
मानव स्वैरकल्पनाको सुन्दर कलामा जन्मिएका
मन्दिर र ईश्वर
दुवै धार्मिक नशामा लट्ठ परेका छन्।
प्रिय सखी!
जान्दैन ईश्वर
कुनै बेकसुर युवती किन बित्थैमा
एसिडद्वारा घाइते बनाइन्छे?
थाहा पाउँदैन मन्दिर
अन्जान किशोरी जीवन बुझ्नुअगावै
किन बलात्कृत हुन्छे?
देख्दैन धार्मिक अनुष्ठान
विधिवत् भित्र्यायाइएकी बेहुली
दाइजोको भरपाई नहुँदा
किन जिउँदै जलाइन्छे?
दैनिक ईश्वर प्रार्थनापछि पनि
प्रताडनाका तिरहरूबाट बचाउने ढाल
किन बन्दैन पूजाको थाली?
रक्षाकवच किन बन्दैन
कठोर व्रतमा अभ्यस्त भोको पेट?
किन मन्दिरै–मन्दिरको सहरमा पनि
धर्मात्मा आमाको आज्ञाकारी छोरो र
व्रतालु श्रीमतीको आदर्श लोग्ने
आफ्नै पसिना बेच्न बिदेसिँदा पनि
किन फर्किनुपर्छ
जीवन गुमाएर काठको बाकसमा?
किनकि,
मान्छेको भाग्य ईश्वरले होइन
देशको शासकले लेख्छ
देशको व्यवस्थाले लेख्छ
शासकको मनोमानी बढेपछि
शासकको भविष्य फेरि जनताले लेख्छ।
प्रिय सखी!
सर्वशक्तिमान् मान्छे हो भने
कुनै बेला
दिल भुलाउन बनाइएको
तीजव्रतको लम्बेतान शृङ्खला
के अब
मिति गुज्रिसकेको कर्म मात्र रहेन र?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।