नयाँदिल्ली–भारतको सर्वोच्च अदालतले अभिनेता सुशान्तसिंह राजपुत प्रकरणको अनुसन्धान गर्न सिबीआईलाई आदेश दिएको छ।
सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो। अदालतले उक्त प्रकरणलाई सिबीआईले अनुसन्धान गर्नुपर्ने बिहार सरकारको मागलाई पनि सही ठहर गरेको छ।
फैसला सुनाउँदै न्यायाधीश ऋषिकेश रायले पटनामा उजुरी दर्ता हुनु पनि कानुनी रुपले सही रहेको जनाएका छन्। सुशान्तकी बहिनी श्वेताले फैसलाप्रति खुसी व्यक्ति गरेकी छन्।
बिहारका डिजिपी गुप्तेश्वर पाण्डेयले पनि सर्वोच्चको फैसलाप्रति खुसी व्यक्त गरेका छन्। उनले भने, ‘सर्वोच्चको यो फैसलाले बिहार प्रहरी सही थियो भनी देखाउछ, सर्वोच्चप्रति मानिसहरुको भरोसा बढेकोमा म खुसी छु, मलाई विश्वास छ अब न्याय हुनेछ, मुम्बई प्रहरीले यस प्रकरणमा जसरी काम गर्यो, त्यो गैरकानुनी छ।’
रिया चक्रवर्तीले पटनामा दायर गरेको उजुरीलाई मुम्बई सारिनुपर्ने माग गर्दै मुद्दा दायर गरेकी थिइन्।
सुशान्तका पिताले आफ्ना छोराको मृत्युको मुख्य कारण रिया भएको बताउँदै आएका छन्। उनले गत २५ जुलाईमा पटनाको राजीवनगर थानामा रियाविरुद्ध एफआइआर दर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।