काठमाडौं– ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानमा छानबिन समितिले एसपी र डिएसपीसँग मंगलबार सोधपुछ गरेको छ। एसपी विकासराज खनाल र डिएसपी संजय राउतसँग समितिले सोधुपुछ गरेको हो।
सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेतीसँग निकटतम सम्बन्ध देखिएपछि उनीहरुसँग बयान लिएको स्रोत बताउँछ। एसपी खनाल जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा राउत इलाका प्रहरी कार्यालय इटहरीका इन्चार्जका रुपमा कार्यरत छन्। त्यस्तै सईद्वय बालकृष्ण सञ्जेल र गजेन्द्र रावलसँग पनि छानबिन समितिले सोधपुछ गरेको छ।
शौचालय हिडेका डिएसपी सम्पर्क विहिन
बयानकै क्रममा शौचालय गएर आउँछु भनेर डिहेका डिएसपी राउत सम्पर्कविहिन भएका छन्। मंगलबार दिउँसो उनी बयानका लागि मन्त्रालयका गएका थिए। बयानका क्रममा आत्तिएका उनी आफुलाई पक्राउ पूर्जी दिइनसक्ने डरले सम्पर्कविहिन भएको हुनसक्ने आशंका गरिएको छ।
आइतबार बयानपछि पूर्वडिआईजी गोविन्द निरौलालाई हिरासतमा लगिएको थियो। उनीविरुद्ध कर्तव्य ज्यान तथा सुन तस्करी मुद्दामा म्याद थप भइसकेको छ।
गत फागुन १८ मा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या र सो घटनाको अनुसन्धानमा भएको चलखेलको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव इश्वरचन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। सोही समितिले घटनाको विस्तृत छानबिन गर्दा विगत ५ वर्षदेखि सेटिङमा विमानस्थलबाट सुन तस्करी भइरहेको र तस्करहरुलार्इृ उच्च पदस्थ प्रहरीहरुकै साथ रहेको खुलेको हो। घटनामा संलग्न २२ जना पक्राउ परिसकेका छन्। जसमा ८ जना थाई एयरलाइन्स तथा ४ जना नेपाल एयरलाइन्सका कर्मचारीहरु छन्। तस्करीको ३३ किलो सुन हराएपछि सो सुन लुटेको आशंकामा पूर्व कर्मचारी शाक्यलाई अपहरण गरी उनीहरुले करेन्ट लगाएर वास्तविकता बकाउन खोज्दा उनको मृत्यु भएको थियो। सो घटना लुकाउन उप्रेतीले अपराध महाशाखाका प्रहरीलाई प्रयोग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।