काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु यादवले कर्मचारीहरुलाई स्वेच्छिक अवकाश दिने तयारी रोकेपछि कर्मचारीहरु अन्य विकल्पबाट त्यसलाई असफल बनाउन लागेका छन्।
मन्त्रालयमा अवकाश रोकिनुको कारण माग गर्दै सूचना माग्दा कुनै जानकारी नपाएपछि उनीहरुले राष्ट्रिय सूचना आयोगलाई गुहारेका छन्।
प्रधानमन्त्री कार्यालयका शाखा अधिकृतद्वय मित्रप्रसाद खतिवडा, चम्पा महर्जन, प्रधानमन्त्री कार्यालयका कार्यालय सहायकद्वय राजेन्द्र कुँवर र जुठे नगरकोटी तथा जल तथा मौसम विज्ञान विभागका लेखा अधिकृत गणेशप्रसाद गुरागाईँ आयोग पुगेका हुन्।
उनीहरुले सोमबार सामान्य प्रशासन मन्त्रालयले स्वेच्छिक अवकास योजनाको सूचना लुकाएको भन्दै उनीहरु सोमबार आयोगमा निवेदन दिएका हुन्। सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार मन्त्रालयले उक्त अवकास योजना किन रोकेको भनेर उनीहरुले जानकारी मागेका छन्। मन्त्रालयमा दुई पटक निवेदन दिए पनि तोकिएको अवधिभित्र सूचना नदिएकाले आफूहरु आयोग आउनुपरेको निवेदनमा उल्लेख छ।
कर्मचारी समायोजन ऐनको दफा १३ लाई प्रभावहीन बनाउन मन्त्रालयलाई छुट हुन नसक्ने जिकिर गर्दै उनीहरुले स्वेच्छिक अवकास योजना कार्यान्वयन नगर्ने निर्णय हुनुको जानकारी मागेका छन्। स्थानीय तह, प्रदेश र संघमा काम गर्न नचाहने २० वर्ष सेवा गरेका ५० वर्ष उमेर नाघेका कर्मचारीले सात वर्षको पेन्सन एकमुष्ठ लिनेगरी स्वेच्छिक अवकासमा बस्न पाउने ऐनमा उल्लेख छ।
कर्मचारीले सूचना आयोगमा दिएको निवेदनमा स्वेच्छिक अवकासको सूचना नपाए अदालत जान बाध्य हुने चेतावनी समेत दिइएको छ।
स्वेच्छिक अवकासका लागि ५ जना सचिवसहित विभिन्न तहका ९ हजार ६ सय ५६ जना कर्मचारीले निवेदन दिएका थिए। स्वेच्छिक अवकास चाहने कर्मचारीको नामावली चैत १३ गते मन्त्रालयको वेबसाइटमा निकाल्नुपर्ने भए पनि अहिलेसम्म राखिएको छैन।
मन्त्री पण्डितले कर्मचारी अभाव रहेको, स्वेच्छिक अवकास दिँदा कर्मचारीलाई एकमुष्ठ रूपमा पेन्सन रकम दिँदा राज्यकोषको ढुकुटीले नधान्ने लगायत कारण देखाएर स्वेच्छिक अवकास योजना स्थगित गरेका थिए। मन्त्रालयले औपचारिक रूपमा स्वेच्छिक अवकास रोकिएको जानकारी भने दिएको छैन।
संघीयता लागू भएपछि संघ, प्रदेश र स्थानीय तहमा काम गर्न जान नचाहने कर्मचारीलाई स्वेच्छिक अवकास दिनेगरी मन्त्रालयले गत पुस २८ गते सूचना जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।