भैरहवा– नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलवारीले तेल बोक्ने ट्याङकरमा सुरक्षात्मक लकिङ प्रणाली लागू गरेको छ।
बीच बाटोबाट तेल चुहावट तथा चोरी हुन नदिन भन्दै निगमले भलबारी डिपोका लागि टयाङ्करमा सिलका साथै ताला लगाएर मात्रै इन्धन ढुवानी गर्ने भएको हो। भलबारीस्थित निगमको कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा लकिङ प्रणलीको शुभारम्भ गरियो। भलबारी डिपोका लागि डिजेल र पेट्रोल ढुवानी गर्न भारतको बैतालपुर पुग्ने टयाङ्करमा पेट्रोलियम पदार्थ लोड गरेपश्चात् ताला लगाएर ढुवानीको सुरुवात गरिएको थियो ।
लकिङ प्रणालीले निगमको आन्तरिक सुधारलाई महत्वपूर्ण योगदान पुग्ने निगमका कार्यकारी निर्देशक इञ्जिनियर सुशील भट्टराईले जानकारी दिए।
‘ढुवानीका क्रममा बीच बाटोबाट हुनसक्ने चुहावट नियन्त्रण र चोरी निकासी तथा अन्य खालका बदमासी हुन नदिन निगमले यो कार्य सुरुवात गरेको हो’, निर्देशक भट्टराईले भने, ‘पहिलो चरणमा भारतको सिलिगुडी डिपोदेखि झापा डिपोसम्म यो प्रविधि लागू गरिएको छ।’
यसअघि पेट्रोलियम पदार्थ लोड गरिसकेपछि टयाङ्करमा सामान्य एउटा मात्र तारले सिल गरेर ढुवानी गर्ने गरिन्थ्यो । खाल्टाखुल्टी र भत्केको सडकमा तार सहजै चुँडिने सम्भावना रहेकाले भरपर्दो थिएन।
नयाँ प्रणालीमा भने पेट्रोलिययम पदार्थ ढुवानी गर्न गएका टयाङ्करलाई लोड गरिसकेपछि बैतालपुर र मुगलसरायमा भारतीय आयल कर्पोरेसनका कर्मचारीले विशेष खालको ताला लगाइदिने गर्छन्। भलबारी डिपोमा अनलोड गर्ने बेलामा उक्त ताला नेपाल आयल निगमका कर्मचारीले खोल्नेछन्। एउटा टयाङ्करमा लगाइएको तालाको चाबी निगम र भारतीय आयल कर्पोरेसनका कर्मचारी दुवैतर्फ रहनेछन्।
भलवारी डिपोमा सञ्चालनमा रहेका ट्याङ्करमध्ये अहिले ३३ वटामा लकिङ प्रणाली लागू गरिएको र बाँकी टयाङ्करमा असार मसान्तभित्र लागू गरिसक्ने आयल निगम क्षेत्रीय कार्यालय भलवारीका प्रमुख अशोक शाहले जानकारी दिए। भारतको बैतालपुर र मुगलसरायबाट भलबारी डिपोका लागि कुल १ सय ९३ वटा टयांकरले पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका छन्।
पेट्रोलियम ढुवानी एसोसिएसन रूपन्देहीका अध्यक्ष राकेश कसौधनले सुरक्षात्मक लकिङ प्रणालीले सबैलाई फाइदा पुग्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।