काठमाडौं- नेपाली मौलिक गायन रियालिटी शो वाइवाई नेपाल स्टारको डिजिटल माध्यमबाट तयार पारिएको दोस्रो राउन्ड सम्पन्न हुने तयारीमा पुगेको छ। दोस्रो राउन्ड षडजका चारमध्ये चारै एपिसोडको छायाङ्कन सकिएको छ भने तीन एपिसोड प्रसारण भइसकेका छन्।
देशका सातै प्रदेशमा सम्पन्न अडिसनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७ जनाले दोस्रो षडज् राउन्डमा सहभागिता जनाएका थिए। विभिन्न प्राविधिक कारणले बाँकी तीन जनाले भने यो राउन्डमा सहभागी हुन नपाएको बताएका छन्।
प्रसारित तीन एपिसोडबाट ३४ जना तेस्रो राउन्डको लागि छानिएका छन् भने अब डिजिटल राउन्डको चौथो तथा अन्तिम एपिसोड प्रसारण हुन बाँकी छ। तेस्रो राउन्डको प्रतिस्पर्धामा उत्रिनका लागि आवश्यक ४८ प्रतिस्पर्धीमध्ये १४ जनाको नाम सार्वजनिक हुन समेत बाँकी छ। यही शनिबार राती प्रसारण हुने वाइवाइ नेपाल स्टारको नयाँ एपिसोड प्रसारण हुनेछ।
अडिसनका सबै एपिसोडको प्रसारण सकिएपछि दोस्रो राउन्डको सुरुवात गर्नु अगावै तयारी गर्दै यो रियालिटी शो प्रसारणमा आएसँगै विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण काठमाडौं अडिसनदेखिको प्रसारण मिति समेत सार्दै जेठ ३१ गतेदेखि फेरि थालिएको थियो।
पहिले तय गरिएको फर्म्याटबाट अलि बाहिर निस्केर सामाजिक दूरी कायम गर्दै प्रविधिमैत्री हुँदै यो राउन्डलाई सुरु गरियो। जहाँ अडिसनबाट छानिएका हरेक प्रतिस्पर्धीले आफ्नो स्वर सुहाउँदो गीत चयन गरेर यथास्थानबाटै खिचेर पठाएको भिडियोलाई मञ्चमा बजाउँदै तीनजना निर्णायकलाई मात्र मञ्चमा राखेर गीत सुन्दै मार्किङ गर्ने व्यवस्था मिलाइयो। प्रतिस्पर्धीले गाएको गीतमा सङ्गीत पनि सुन्न सकिने यो राउन्डदेखिका सबै एपिसोडमा सङ्गीत बजाउँदै साथ दिने साङ्गीतिक समूहमध्येकै दुई बाजा गितार र पियानो बजाएको पनि देख्न सकिन्छ।
समय र परिस्थितिलाई मध्यनजर गर्दै प्रतिस्पर्धी, निर्णायक तथा पर्दापछाडि काम गर्ने कार्यक्रम उत्पादक टिमको स्वास्थ्यको समेत ख्याल गर्दै अब यही गतिमा हरेक हप्ता नयाँ एपिसोड प्रस्तुत गर्ने तयारीमा यो कार्यक्रमको निर्माण टोली रहेको बताउँछन् वाइवाइ नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ।
कार्यक्रमका निर्णायक रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री छन्। नेपाल टेलिभिजनको प्रस्तुतिमा की इन्टरटेन्मेन्टको निर्माण रहेको यो कार्यक्रमको प्रसारण नेपाल टेलिभिजनमा हेर्न सकिनेछ भने नेपाल टेलिभिजनकै युट्युब र मोबाइल एपबाट पनि हेर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।