काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपालको दुई दिने भ्रमणमा आउँदैछन्। नेपाल भ्रमणका बेला मोदी जनकपुरधाम र मुक्तिनाथको दर्शन गर्न जाने भएका छन्।
नेपालस्थित भारतीय राजदूतावास स्रोतका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री मोदी मुक्तिनाथ दर्शनका लागि जाने तयारी भइरहेको छ।
‘नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले जनकपुरका अलवा मुक्तिनाथको पनि भ्रमण गर्नुहुनेछ। मुक्तिनाथ भ्रमणलाई पनि हामीले उहाँको नेपालमा रहँदाको तालिकामा राखेका छौं,’ मोदी भ्रमणबारे जानकार र तयारी गरिरहेका दूतावासका अधिकारीले भने।
वैशाख २८ को बिहानै विशेष विमान मार्फत नेपाल आउन लागेका मोदीले नेपालमा छँदा राष्ट्रपति, उप–राष्ट्रपति, प्रधानमन्त्रीसहित विपक्षी एवं मधेसी दलका नेतालाई भेट्ने कार्यतालिकाको खाका बनाइएको ती अधिकारीले जानकारी दिए।
दूतावास स्रोतले भन्यो, ‘प्रधानमन्त्री मोदीको यो भ्रमण राजनीतिकसँगै धार्मिक पनि हुनेछ। भ्रमणका लागि नेपाल आउन अझै दुई हप्ताभन्दा बढीको समय रहेकाले केही गन्तव्य अझै थपिन सक्ने सम्भावना छ। तर, भ्रमण दुई दिनभन्दा बढी हुनेछैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।