एजेन्सी- ‘बाहुबली’ फिल्मका निर्देशक एसएस राजामौलीको पूरा परिवार कोरोनाको चपेटामा परेको छ। राजामौलीले ट्वीट गर्दै आफ्ना परिवारका सबै सदस्यलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका हुन्।
राजामौलीले आफ्ना परिवारका सदस्यलाई केही दिनदेखि हल्का ज्वरो आएको र कोरोना परीक्षणको नतिजा ’पोजेटिभ’ आएको बताएका छन्। उनको परिवार हाल चिकित्सकको सल्लाहअनुसार ‘होम क्वारेन्टाइन’मा बसेको छ।
उनले कोरोना संक्रमण भएको सार्वजनिक भएसँगै उनलाई कलाकार तथा प्रशंसकहरूले शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।
राजामौलीले कोरोना भएको जानकारी दिएपछि गरेको अर्को ट्वीटमा उनले आफ्नो परिवार शरीरमा एन्टीवडीको विकासलाई कुरिरहेको र त्यसपछि प्लाज्मा दान दिने बताएका छन्। यसअघि अमिताभ बच्चन परिवारलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। अमिताभसँगै छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्यालाई कोरोना देखिएको थियो। ऐश्वर्या र छोरी आराध्या भने उपचारपछि घर फर्किसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।