काठमाडौं- व्यापारीहरुले चिनी लुकाउँदा बजारमा कृतिम अभाव देखिएको छ। चिनी अभाव देखिएपछि व्यापारीहरुले मूल्यवृद्धि र कालोबजारी गर्न थालेका छन्। यहीबीच संसदीय समितिले पनि यो विषयमा चासो देखाएको छ।
बुधबारमात्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा चिनी गोदाममा सिल गरेको छ भने १५ क्विन्टल चिनी बोकेर भाग्दै गरेको गाडी नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएको छ।
विभागका अनुसार बजार अनुगमनका क्रममा कालिमाटीमा रहेको ए.एस.एस मार्केटिङले खरिद गरेको चिनीको विवरण हेर्दा नमिलेको भेटिएपछि गोदाममा चेकजाँच गर्दा चिनी लुकाएर राखिएको भेटिएको हो। त्यस्तै कालिमाटीकै अर्को एक चिनी गोदामलाई पनि विभागले सिल गरेको छ। उक्त गोदाममा संचालक सम्पर्कमा नआएपनि चिनी लुकाएर राखिएको हुनसक्ने आशंकामा सिल गरिएको विभागका सूचना अधिकारी रविन्द्र आचार्यले बताए।
विभागले बुधबार नै लुकाएर राखिएको १५ क्विन्टल चिनी एक ठाउँबाट अर्को ठाउँमा ओसार्ने क्रममा एक गाडीलाई नियन्त्रणमा लिई कालीमाटी प्रहरी वित्तको जिम्मा लगाएको छ।
व्यवसायीहरुले अहिले बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्य बढाइरहेका छन्। चिनी उद्योगी र होलसेल व्यापारीले लकडाउनको कारण देखाउँदै मूल्य बढाएसँगै बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो ८५ रुपैयाँदेखि ९० रुपैयाँसम्म पुगेको छ। बजारमा चिनीको मूल्यवृद्धि देखिएको भन्दै उपभोक्ताबाट गुनासो आएपछि विभागले केही समयअघि चिनी व्यवसायी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग मूल्य वृद्धिको कारणबारे जानकारी लिएको थियो।
साल्ट ट्रेडिङले प्रतिकिलो ५ रुपैयाँ अनुदानसहित ७३ रुपैयाँमा बेचिरहेको छ। अर्थात् अनुदान नदिँदा साल्ट ट्रेडिङले बेच्ने चिनीको मूल्य पनि ७८ रुपैयाँ प्रतिकिलो हुन जान्छ। तर खुद्रा बजारमा भने चिनीको मूल्य ९० रुपैयाँ प्रतिकिलोसम्म देखिएको छ। साल्ट ट्रेडिङले प्रतिव्यक्ति ६ किलोभन्दा बढी चिनी नबेचेको बताइरहेको छ।
त्यस्तै संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बजारमा चिनीको अभावबारे जानकारी लिन साल्ट ट्रेडिङ कर्पोरेसनलाई बोलाएको छ। दशैं तिहारलगायत चाँडपर्वको समयमा चिनीको खपत बढी हुने गर्छ। यही बेला व्यापारीहरुले चिनी लुकाएर कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्य बढाउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।