काठमाडाैं- सुनको मूल्य प्रतितोला ३ सयले बढेर ९८ हजार ५ सय रुपैयाँ पुगेको छ। मंगलबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ३ सयले बढेर ९८ हजार ५ सय रुपैयाँ पुगेको हाे।
यसैगरी चाँदीको मूल्य भने बुधबार घटेको छ। मंगलबार प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला २० रुपैयाँले घटेर १ हजार २ सय २५ रुपैयाँमा झरेको छ।
निरन्तर रुपमा बढिरहेको सुनको मूल्य साउन महिनामै प्रतितोला १ लाख रुपैयाँसम्म पुग्ने सम्भावना बढेर गएको सुनचाँदी व्यवसायी मणिरत्न शाक्य बताउँछन्।
नेपाली बजारमा सुनको मूल्य बढ्नुको प्रमुख दुईवटा कारण रहेको उनको भनाइ छ। ‘पहिलो कारण सरकारले सुन आयातमा बढाएको भन्सार शूल्क नै हो। दोस्रो कारण भने डलरकाे मूल्यमा आएको उतारचढाव हो,’ उनले भने।
सुन आयातमा चालु आर्थिक वर्षको बजेट अगाडिसम्म प्रतिकिलो ६ लाख ५० हजार भन्सार तिर्नुपर्ने थियो। तर, चालू आर्थिक वर्षको बजेटसँगै सरकारले सुन आयातमा प्रतिकिलो २ लाख जति भन्सार बढाएर साढे ८ लाख रुपैयाँ पुर्याएको छ। जसका कारण नेपाली बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि आएको शाक्य बताउँछन्।
यसबाहेक अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ)ले बन्ड रकममा दिँदै आएको ब्याजको दर घटाउनु नै अन्तर्राष्ट्रिय बजारमा सूनको मूल्य बढ्नुको प्रमुख कारण भएको उनको तर्क छ।
अमेरिकी केन्द्रीय बैंकले बन्ड रकमको ब्याज ३ दशमलब २५ प्रतिशतसम्म दिँदै आएको थियो। तर, अहिले ब्याजदर शून्य दशमल २५ प्रतिशतमा झरेको छ। यो ब्याजदर ऋणात्मक हुने अवस्थामा जाने आँकलन भएसँगै सुनमा बढ्दो लगानीका कारण मूल्यमा वृद्धि आएको शाक्य बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।