फाइल तस्बिर
काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले लकडाउन खुलेसँगै आर्थिक क्रियाकलाप बढ्दा राजस्व चुहावटको जोखिम बढ्ने भएकाले ध्यान दिएर काम गर्न दिनर्देशन दिएका छन्। राजस्व चुहावट नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा अर्थमन्त्री खतिवडाले प्रहरी र राजस्व प्रशासनबीच समन्वय बढाएर काम गर्न पनि निर्देशन दिए।
आन्तरिक लकडाउनसँगै अन्तर्राष्ट्रिय नाका पनि सिल गरिएकाले अहिले चुहावट नियन्त्रणमा रहे पनि खुला भएको अवस्थामा जोखिम बढ्ने उल्लेख गरे। चुहावट नियन्त्रणका लागि समन्वयात्मक ढंगबाट काम गर्नुपर्ने भएकाले अन्तरनिकाय समन्वयमा ध्यान दिन आग्रह गरेका छन्।
खतिवडाले प्रहरी र कर्मचारीले एक अर्काको निगरानी गर्नुपर्ने पनि बताएका छन्। प्रहरीलाई राजस्वका विषयमा तालिम दिनुपर्ने अवस्था आएमा त्यसमा पनि समन्वय गर्न उनले निर्देशन दिएका छन्।
बैठकमा अर्थसचिव शिशिरकुमार ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी, गृहसचिव महेश्वर न्यौपाने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यादव कोइराला, भन्सार विभागका महानिर्देशक सुमन दाहाल, राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलगायतको उपस्थिति थियो। यसैगरी दुवै प्रहरी संगठनका महानिरीक्षकहरू पनि बैठकमा उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।