काठमाडौं- सधैंका लागि बन्द भएको श्रीराम सुगर मिलको शेयर मूल्य दोस्रो बजारमा भने बढेको छ। सोमबार कम्पनीले सुगर मिल सधैंका लागि बन्द भएको घोषणा गरे पनि दोस्रो बजारमा कम्पनीको शेयर भने खरिद बिक्री भइरहेको छ। कम्पनीको शेयर मूल्य १६ रुपैयाँले सुधार भएको देखिन्छ।
कम्पनीले व्यवसाय बन्द गर्ने सूचना जारी गर्दै गर्दा मूल्य भने ह्वात्तै बढेको छ। केही दिनदेखि कम्पनीको मूल्य बढिरहेको छ। मिल रहेको स्थानमा जग्गा धेरै रहेको र उक्त जग्गा बेचेर राम्रो पैसा आउने अनुमान गर्दै लगानीकर्ताहरुले बढ्दो मूल्यमा कम्पनीको शेयर खरिद गरिरहेका छन्।
केही शेयर म्याचिङ कारोबार भए पनि अधिकांश कारोबार खुला रुपमा भइरहेको छ। कतिपय शेयरधनीले मिल बन्द भएको भन्दै बेचेर बाहिरिन खोजिरहेका छन् भने केही लगानीकर्ता कम्पनीले आफ्नो सम्पत्ति बिक्री गरेर आउने पैसा धेरै हुने भन्दै खरिद गरिरहेका छन्।
कतिपय शेयरधनी कम्पनीको बदमासीबाट बाहिरिन शेयर बिक्री गरिरहेको अनुमान गरिएको छ। कम्पनीको चुक्ता पुँजीमध्ये ९१ प्रतिशत संस्थापकको छ भने सर्वसाधारणतर्फ ९ प्रतिशत छ। तर सर्वसाधारणतर्फको शेयरमा पनि तीन प्रतिशत चुक्ता छैन।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा ३०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न निवेदन दिएको छ। तर रेटिङ ५ आएपछि सार्वजनिक निष्काशनको अनुमति पाउन सकेको थिएन।
कमजोर व्यवस्थापनका कारण बन्द भएको मिलको सम्पत्ति तथा मेसिन भने राम्रो अवस्थामा रहेको हुँदा लगानीकर्ताले मिल बिक्रीपछि आउने भ्यालुका कारण कम्पनीको शेयरमा आकर्षण देखाएका हुन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।