काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन व्यापार कम्पनी ग्यापु मार्केट प्लेस प्रालिलाई जरिवाना गरेको छ। अनलाइन व्यवसाय दर्ता नगरी व्यवसाय संचालन गरेको भन्दै विभागले आइतबार कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो।
विभागका अनुसार अनलाइन व्यापारका लागि वाणिज्य विभागमा दर्ता हुनुपर्ने कानुनी प्रावधान रहेपनि उक्त कम्पनीले दर्ताबिनै कारोबार गरिरहेको भेटिएको हो। ‘उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २० (२) बमोजिम अनलाइन व्यवसाय दर्ता नगरी व्यवसाय संचालन गरेकोले दफा ३८ (ट) को कसुरमा सोही ऐनको दफा २९ उपदफा १ को घ अनुसार कारबाही गएिको’ विभागले जनाएको छ।
त्यसैगरी विभागले आइतबार नै ललितपुर महानगरपालिका २३ स्थित क्याम्प वाटर प्रालिलाई पनि ५० हजार रुपैयाँ जरिवाना गरेको छ। विभागले गरेको बजार अनुगमनका क्रममा यो पानी कम्पनी पनि व्यवसाय दर्ताबिनै संचालन भइरहेको भेटिएपछि कारबाही गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।