काठमाडौं- वैदेशिक व्यापारमा आयातको तुलनामा निर्यात निकै कम हुँदा नेपालले वार्षिक खर्बौं रुपैयाँ बराबरको व्यापार घाटा व्यहोर्दै आएको छ। भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७६/७७ मा नेपालले १२ खर्ब ९२ अर्ब ९५ करोड ५७ लाख ५७ हजार रुपैयाँ बराबरको कुल वैदेशिक व्यापारमा ११ खर्ब ६४ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। अर्थात् गत आर्थिक वर्षमा नेपालले ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको आयात गर्दा ९६ अर्ब १५ करोड ६७ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ।
अधिकांश वस्तुको आयात त्यस्ता वस्तुको निर्यातको तुलनामा निकै बढी छ। सबैभन्दा बढी आयात हुने इन्धन, सवारीसाधनजस्ता वस्तुको नेपालबाट निर्यात भने शून्य छ। जसकारण नेपालको व्यापार घाटा वर्षेनी बढ्दो क्रममा छ। यद्यपि केहि वस्तुको व्यापारमा भने नेपालले नाफा कमाई रहेको छ। भन्सार विभागका अनुसार विभिन्न ९ प्रकारका वस्तुको व्यापारमा आयातभन्दा निर्यातको अंश बढी छ।
विभिन्न किसिमका तरकारी, फलफूल तथा अन्य बोटबिरुवाको निर्यात आयातभन्दा बढी छ। गत आर्थिक वर्षमा यस्ता वस्तुको १ अर्ब ४४ करोड ४ लाख रुपैयाँ बराबरको आयात भएकोमा ३ अर्ब ४० करोड ७२ लाख रुपैयाँ बराबरको निर्यात हुँदा १ अर्ब ९६ करोड ६८ लाख रुपैयाँ बराबरको व्यापार नाफा भएको छ।
त्यस्तै छालाजन्य वस्तुको १७ करोड ८४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ भने यसमा व्यापार नाफा ११ करोड ५१ लाख रुपैयाँ बराबर छ। तयारी कपडा, फाइबर, धागो, कागज वा धागोबाट बनेका कपडाको निर्यात पनि आयातको तुलनामा बढी छ। गत आर्थिक वर्ष २ अर्ब ९० करोड ४१ लाख रुपैयाँ बराबरको यस्ता वस्तु आयात भएकोमा ३ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको निर्यात भएर ५३ करोड ८९ लाख रुपैयाँ बराबरको व्यापार नाफा भएको छ।
हातले बुनेका कपडा पनि नेपालबाट निर्यात हुने गरेको छ। २ अर्ब १९ करोड ५८ लाख रुपैयाँ बराबरको आयात भएका यस्ता वस्तु २ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ निर्यात भएको छ। अर्थात् यी वस्तुमा ६३ करोड ९५ लाख रुपैयाँ बराबरको व्यापार नाफा देखिन्छ। धागो, डोरीलगायत वस्तुमा १ अर्ब २ करोड १९ लाख रुपैयाँ बराबरको व्यापार नाफा छ।
कार्पेट र गलैंचामा ५ अर्ब ६४ करोड ८० लाख रुपैयाँ बराबर व्यापार नाफा छ। गत वर्ष ६७ करोड ३७ लाख रुपैयाँ बराबरको कार्पेट तथा गलैंचा आयात भएकोमा ६ अर्ब ३२ करोड १८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। सीसा र चम्किला धातु तथा वस्तुमा पनि व्यापार नाफा छ। यस्ता वस्तुको १२ करोड ६१ लाख रुपैंयाँ बराबरको व्यापार नाफा देखिन्छ। त्यस्तै बाद्यबादनका यन्त्र १४ करोड ७२ लाख रुपैयाँ बराबरको आयात भएकोमा ३७ करोड ७८ लाख रुपैयाँ बराबरको निर्यात हुँदा २२ करोड ८६ लाख रुपैयाँ बराबरको व्यापार नाफा देखिन्छ।
४२ लाख रुपैयाँ बराबरको हस्तकताका सामग्री विदेशबाट नेपाल आएका छन् भने ५६ करोड ९० लाख रुपैयाँ बराबरका निर्यात भएर ५६ करोड ४८ लाख रुपैयाँ बराबरको व्यापार नाफा भएको देखिन्छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले गरेको वैदेशिक व्यापारमा २३ देशसँग व्यापार नाफा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।