काठमाडौं- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोसाइटल बचत तथा ऋण सहकारी र लुःनिभा बचत तथा ऋण सहकारी संस्थालाई उनीहरुको समस्या आफैं सुल्झाउन समय दिएको छ। अघिल्लो वर्ष बैशाखमा समस्याग्रस्त घोषणा भएको सोसाइटल र कात्तिकमा समस्याग्रस्त घोषणा भएको लुःनिभाका संचालकलाई आफैं समस्या सुल्झाएर आउन भनिएको हो।
लुःनिभाका संचालकलाई साउन १५ गतेभित्र र सोसाइटलका संचालकलाई २० गतेभित्र हिसाब मिलान गरेर आउन भनेको समितिका अध्यक्ष कुमार प्रसाद पोखरेलले जानकारी दिए। ‘संचालकहरुले हामी आफैं समस्या समाधान गर्छौं भनेर समितिमा निवदेन दिएका रहेछन्। त्यसकारण उहाँहरुको समस्या आफैं समाधान गर्न भनेर हामीले समय दिएका हौं,’ अध्यक्ष पोखरेलले भने, ‘समितिले दिएको समयभित्र समस्या समाधान गरेर नआए हामी अरु प्रक्रिया सुरु गर्छौं। उहाँहरुकै समस्या हो। पहिलो चरणमा उहाँहरुको समस्या आफैंले समाधान गरेर आउन भन्ने हो। उनीहरुले अहिले कोरोनाका कारण पैसा उठाउन पाएनौं भनेका छन्। आफैं समस्या समाधान गर्न सक्ने हो भने कोशिस गर्नुहोस भनेर समय दिएका हौं।’
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यी दुई संस्थालाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन समितिलाई जिम्मा लगाउँदा सोसाइटलको दायित्व १७ करोड ७४ लाख ९१ हजार रुपैयाँ र लुःनिभाको दायित्व २८ करोड ५४ लाख रुपैयाँ बराबर छ। समितिले यी दुई संस्थासहित १ दर्जन सहकारीको सम्पत्ति व्यवस्थापनको काम गरिरहेको छ। तर, हालसम्म कुनै पनि संस्थाको काम पूर्ण रुपमा फरकफारक भने भइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।