काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघको तेस्राे महाधिवेशन तथा ७औं वार्षिक साधारणसभा आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ। महासंघको हालै सम्पन्न १७औं कार्यसमितिको भर्चुअल बैठकले यो निर्णय गरेको हो।
महाधिवेशनमा देशभरबाट करिव ४ सय जना प्रतिनिधि सहभागी हुनेछन्। बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ। यसको लागि असोज १२ गतेको मिति तय भएको छ। निर्णयअनुसार सातै प्रदेशमा एकै दिन (असोज १२ गते) साधारणसभा सम्पन्न हुने छ।
महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका लागि वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप समितिहरुसमेत गठन गरेको छ।
हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन:
आम उपभोक्ताको सर्वोपरी हितलाई मध्यनजर गर्दै महासंघले हिरालगायत रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याब स्थापना गर्ने निर्णय गरेको छ।
यस्तै यस विषयमा थप प्रष्ट हुने गरी बैठकले हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन गर्ने निर्णय पनि गरेको छ। हाल बहुमूल्य हिरा तथा पत्थरको सक्कली–नक्कली र मूल्य एकीन नहुँदा आम उपभोक्ता मर्कामा पर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।