काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य महासंघ मिति गुज्रिएको औषधिजस्तै भएको बताएका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले महासंघको पछिल्ला गतिविधिले यसलाई मिति गुज्रिएको औषधिजस्तै बनाएको बताएका हुन्।
महासंघको पदाधिकारी बैठकले साधारणसभा स्थगत गर्ने निर्णय गरेको भोलिपल्ट शुक्रबार पत्रकार सम्मेलन गर्दै ढकालले निजी क्षेत्र अहिले अभिभावकविहीन भएको पनि उल्लेख गरे। ढकालले महासंघको केन्द्रीय समिति बैठकले निर्णय गर्नुपर्ने विषय हतारहतार पदाधिकारी बैठकले गरिएको भन्दै त्यसमा आफ्नो फरक मत रहेको पनि बताए।
ढकालले आफूले साधारणसभा गर्नुपर्छ भन्दा स्वास्थ्यप्रति संवेदनशील नभएको आरोप लगाइएको भन्दै आफू त्यस्तो असंवेदनशील नभएको पनि उल्लेख गरे। 'विधिसम्मत नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्नेमा मेरो फरक मत छैन,' उनले भने, 'तर अहिले जसरी विषयवस्तु प्रस्तुत गरिएका छन् त्यसप्रति मेरो अहसमति छ।'
बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले साउन २६ र २७ गतेका लागि प्रस्तावित ५४ औँ साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।