काठमाडौं-गत आर्थिक वर्ष २०७६/०७७ मा देशको कूल वैदेशिक व्यापार १४.६९ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७५/०७६ मा १४.२६ प्रतिशतले बढेको वैदेशिक व्यापार गत आर्थिक वर्षमा भने घटेको हो।
अघिल्लो आर्थिक वर्षमा बढेको निर्यात र आयात गत वर्ष घटेको भन्सार विभागले जनाएको छ। विभाग स्रोतले उपलब्ध गराएको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा १३.९३ प्रतिशतले बढेको आयात गत वर्ष १५.६३ प्रतिशतले घटेको छ। यसैगरी अघिल्लो आर्थिक वर्षमा १९.३६ प्रतिशतले बढेको निर्यात गत आर्थिक वर्ष भने ०.९८ प्रतिशतले घटेको छ।
वैदेशिक व्यापारमा संकुचन देखिएसँगै व्यापार घाटा पनि घटेको छ। अघिल्लो आर्थिक वर्षमा १३.५५ प्रतिशतले बढेको व्यापार घाटा गत वर्ष भने १६.७० प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ।
अघिल्लो आर्थिक वर्ष २०७५/७६ काे कूल वैदेशिक व्यापार १५ खर्ब १५ अर्ब ६४ करोड रूपैयाँको रहेकोमा गत आर्थिक वर्ष २०७६/०७७ मा १२ अर्ब ९२ अर्ब रूपैयाँमा घटेको छ। लकडाउनका कारण वस्तु आयात र निर्यात दुवैमा संकुचन हुँदा समग्र वैदेशिक व्यापार संकुचित बनेको हो।
वैदेशिक व्यापार संकुचित भएसँगै भन्सार राजस्व संकलन पनि प्रभावित भएको छ। अघिल्लो आर्थिक वर्षमा १४.५० प्रतिशतले बढेको भन्सार राजस्व गत आर्थिक वर्षमा १५.९२ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ३ खर्ब ६२ अर्ब ७५ करोड रूपैयाँ भन्सार राजस्व संकलन भएकोमा गत वर्ष ३ खर्ब ५ अर्ब रूपैयाँ संकलन भएको छ।
सरकारले चैत ११ गतेबाट लकडाउन गर्नुअघिसम्म बढिरहेको आयात, निर्यात र राजस्वको वृद्धिदर त्यसपछिबाट भने ओरालो लाग्न थालेको हो। लकडाउनअघिसम्म आयात २.६२ प्रतिशतले घटेको थियो भने निर्यात् २२.३५ प्रतिशतले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।